गरुड क्यासिनो बूढानीलकण्ठबाट १० लाख ८५ हजारसहित ११ जना पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । भदौ ३०, बूढानीलकण्ठस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
बूढानीलकण्ठ नगरपालिका-१, तौलुङस्थित ‘गरुड क्यासिनो’ बाट उनीहरूलाई पक्राउ गरिएको हो । उक्त क्यासिनो बूढानीलकण्ठस्थित होटल लेमन ट्रीमा सञ्चालित छ ।
नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई क्वाइनमार्फत नगद सटही गरेर जुवातास खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले छापा मारेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार क्यासिनोबाट जुवा खेल्न प्रयोग गरिने विभिन्न दरका क्वाइन, ९ थान मोबाइल र १० लाख ८५ हजार ६०० रूपैयाँ नगद बरामद गरिएको छ ।
प्रहरीले बरामद गरेका क्वाइनहरूमा ५० हजार रूपैयाँ लेखिएका ८ थान, १० हजारका १९ थान, १ हजारका ८८ थान र १०० रूपैयाँ लेखिएका ५ थान रहेका छन् ।
पक्राउ परेका सबैलाई जुवासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
नेपालको कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न पूर्ण रूपमा निषेध गरिएको छ ।

