पद्मश्री साहित्य पुरस्कार ‘सलह’लाई, साधना सम्मान कृष्ण धरावासीलाई

सहयात्रा टिभी

काठमाडौँ । असोज १, खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानका अनुसार २०८२ मा प्रकाशित उत्कृष्ट कृतिमध्ये ‘सलह’ पुरस्कारका लागि छनोट भएको हो। प्रतिष्ठानमा प्राप्त ११२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीमा रहेका पाँच कृतिमध्येबाट मूल्याङ्कन समितिले ‘सलह’ छनोट गरेको हो।

‘सलह’ले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ। कृतिको काव्यिक भाषा, प्रतीकात्मकता, जीवन्त प्रकृति–चित्रण र मार्मिक कथनशैलीलाई पनि यसको विशेषताका रूपमा उल्लेख गरिएको छ।

त्यस्तै, नेपाली साहित्यमा पाँच दशकदेखि साधनारत आख्यानकार एवं लेखक ‘कृष्ण धरावासी’लाई पद्मश्री साधना सम्मान प्रदान गर्ने निर्णय भएको छ। ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिका लेखक तथा दुई दर्जन ग्रन्थका सम्पादक धरावासीले सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, विभेद तथा इतिहासका उपेक्षित पक्षलाई आफ्ना सिर्जनामा प्रस्तुत गर्दै आएका छन्।

यसैगरी, ‘पद्मश्री गौरव पुरस्कार’ प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ। नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्यले साहित्य, भाषाविज्ञान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिसम्बन्धी दर्जनभन्दा बढी कृति लेखेका छन्। ‘युगनाथ खनाल : जीवनी र विचार’, ‘भानुभक्त आचार्यको रामायण नेपाली र अंग्रेजीमा’ तथा ‘नेपालको परराष्ट्र नीति : एक विमर्श’ उनका उल्लेखनीय कृतिमध्ये हुन्। प्रतिष्ठानका अनुसार तीनै पुरस्कारको राशि जनही ‘तीन लाख रुपैयाँ’ र सम्मानपत्र रहेको छ ।

प्रकाशित : 17 September, 2026

प्रतिक्रिया दिनुहोस्