पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निवासबाटै पक्राउ
सहयात्रा टिभी
काठमाडौँ । असोज ११, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो।

जबरा पक्राउ परेको उच्च प्रहरी स्रोतले पुष्टि गरे पनि उनलाई कुन प्रकरणमा नियन्त्रणमा लिइएको हो भन्नेबारे विस्तृत विवरण खुलाइएको छैन।
१७ पुस २०७५ मा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध १ फागुन २०७८ मा प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग दर्ता भएसँगै उनी पदबाट निलम्बनमा परेका थिए।
त्यसबेला संसद्मा लामो समयसम्म महाअभियोगको प्रक्रिया अघि नबढी अलपत्र परेको थियो। संसद्को तत्कालीन कार्यकाल सकिएपछि संसद् सचिवालयका तत्कालीन महासचिवले महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको भन्दै जबरालाई पत्र दिएका थिए।
संसद् सचिवालयको उक्त पत्रविरुद्ध सर्वोच्च अदालतमा चार वटा रिट परेका थिए। गत २४ भदौमा प्रधानन्यायाधीश मनोजकुमार शर्माको नेतृत्वमा रहेको संवैधानिक इजलासले ती सबै रिट खारेज गरिदिएको थियो। संवैधानिक इजलासले जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भइसकेको ठहर गर्दै रिट खारेज गर्ने फैसला सुनाएको थियो।
