प्रधानमन्त्री बालेन पलाञ्चोक भगवतीको दर्शनमा

सहयात्रा टिभी

काठमाडौँ । असोज २८, प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पलाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन् ।

आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाह बुधबार बिहान पलाञ्चोक भगवती मन्दिर पुगेका हुन् ।

पलाञ्चोक भगवतीको नित्य पूजाको समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरी फर्किएको पाँचखाल–९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री शाहको पलाञ्चोक भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी गराइएको थिएन । स्रोतका अनुसार प्रधानमन्त्री शाहसँगका सुरक्षाकर्मी समेत सिभिलमा थिए ।

नवरात्र सुरु भएसँगै पलाञ्चोक भगवती मन्दिरमा धार्मिक गतिविधि बढ्ने गरेको छ । पलाञ्चोक भगवतीलाई नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ । विशेषगरी नवरात्रका अवसरमा यहाँ भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ ।

पलाञ्चोक भगवती मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ । धार्मिक र ऐतिहासिक महत्त्वको यस मन्दिरमा प्रधानमन्त्री शाहले पनि दर्शन गरेका हुन् ।

प्रकाशित : 14 October, 2026

प्रतिक्रिया दिनुहोस्