हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ६, देशका हिमाली र पहाडी भूभागमा आगामी दुई दिन आंशिक बदली हुने तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले शुक्रबार र शनिबारका लागि जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।
शनिबार पनि हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराईमा भने मौसम मुख्यतया सफा रहनेछ ।
शनिबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र अन्य हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तराईका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।
