नेकपाको जागरण अभियान : चुनावको तयारी, सरकारका गलत कामको प्रचार
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै दुईमहिने जागरण अभियान सन्चालन गर्ने भएको छ ।

गत असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको गरेको निर्णयअनुसार आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म अभियान सञ्चालन गर्न लागिएको हो । नेपाली कम्युनिस्ट पार्टीका नेता एवम् केन्द्रीय कार्यालय सचिव गणेशमान पुन (रश्मी)ले भने, ‘आगामी चुनाव, पार्टी महाधिवेशन, संगठन सुदृढीकरण, जनजीविकाका सवाल, लोकतन्त्र र राष्ट्रिय स्वाधिनताको रक्षा लगायतका विषयमा केन्द्रित भएर अभियान सञ्चालन हुनेछ ।’
नेकपाले गत असोज २५ गते जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)मा पनि ‘पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभाको निर्वाचन तथा सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्ध आन्दोलनको तयारीका रूपमा’ अभियान सञ्चालन गरिने उल्लेख छ । नेकपाको सूचना तथा सञ्चारप्रविधि विभागका उपप्रमुख सुरेन्द्र बस्नेतका अनुसार जागरण अभियान मूलत: पार्टीलाई जनतातिर फर्काउने अभियान हो ।
युवा नेता बस्नेतले भने, ‘यस अभियानमार्फत् संगठनात्मक सुदृढीकरण, स्थानीय र प्रदेशसभा निर्वाचनको तयारी, महाधिवेशनको तयारीका साथै विपद् प्रभावित क्षेत्रमा पुनर्स्थापनाका कार्यहरूमा पार्टी केन्द्रित हुनेछ ।’ यस अभियानमा केन्द्रदेखि स्थानीय समितिसम्मको सिङ्गो पार्टीपङ्क्ति परिचालित हुने उनले बताए ।
आफू मतदाता रहेको क्षेत्रमा नेताहरु
नेपाली कम्युनिस्ट पार्टीले अभियानको सुरुवात र क्रियाकलापबारे विस्तृतमा जानकारी दिन आज दिउँसो साढे दुई बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनसमेत आयोजना गरेको छ । कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल लगायतका नेताहरुले अभियानबारे जानकारी दिने नेता पुनले बताए ।
अभियानका क्रममा केन्द्रीय कार्य संयोजन समितिका सदस्यहरूलाई देशभरिका विभिन्न जिल्लाहरूको समन्वय गर्ने जिम्मेवारीसहित उनीहरु मतदाता रहेका प्रदेशहरुमा खटाइएको छ ।
उनीहरूले प्रदेशसँगको समन्वयमा सम्बन्धित प्रदेशभित्रका जिल्लाका पार्टी समितिहरूसँग नियमित सम्पर्क, मार्गदर्शन, अनुगमन तथा समन्वय कायम गरी राष्ट्रिय जागरण अभियान, संगठनात्मक सुदृढीकरण र पार्टीका अन्य कार्यक्रमहरूलाई अघि बढाउने जिम्मेवारी दिइएको छ ।
नेकपाका अनुसार अभियानअन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन हुनेछन्–
१. पार्टी समितिहरू र जनवर्गीय तथा मोर्चा संगठनहरूको समायोजनको बाँकी काम सम्पन्न गर्ने ।
२. संगठित सदस्यता नवीकरण तथा विस्तार अभियान तीव्र रूपमा सञ्चालन गर्ने ।
३. पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमहरू सञ्चालन गर्ने ।
४. जनता र पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउन जनता केन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने ।
५. सांस्कृतिकलगायतका रचनात्मक कार्यक्रम सञ्चालन गर्ने ।
६. जनताका माग र दैनिक जनजीविकाका मुद्दाहरू सङ्कलन गरी सम्बन्धित निकायहरूमा पेश गर्ने र कार्यान्वयनका लागि पहल गर्ने ।
७. श्रम तथा जनसेवाका कार्यक्रम सञ्चालन गर्ने ।
८. विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका कार्यहरूमा सहयोग गर्ने ।
९. राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, जनअधिकार, सुशासन तथा जनजीविकाका सवालमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने ।
१०. महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी, असुरक्षा तथा जनताका अन्य समस्यामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने । केन्द्रमा प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री तथा सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारी वा सम्बन्धित निकायसमक्ष मागपत्र र ज्ञापनपत्र पेश गर्ने ।
साथै अभियानका कार्यक्रम स्थानीय वस्तुस्थिति, जनताको आवश्यकता तथा सम्बन्धित तहको निर्णयअनुसार लचिलो ढंगले सञ्चालन गर्ने योजना रहेको नेकपाले जनाएको छ ।
