केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाहिरी चक्रपथ ५ बर्षमा पूरा हुने

सहयात्रा टिभी

बैशाख १७, २०७४ । १३ बर्षदेखि चर्चा हुँदै आएको उपत्यकाको चक्रपथ निर्माणको कामले अब गति पाउने भएको छ । शहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित शहरीकरण गर्ने बृहत् लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिएपछि यसको निर्माण सुनिश्चित भएको हो । चक्रपथले काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने छ ।
६ अर्बको लागतमा बन्न लागेको बाहिरी चक्रपथ ३ देखि ५ वर्षसम्ममा निर्माण पूरा हुने शहरी विकास मन्त्रालयले जनाएको छ । शहरी विकासमन्त्री अर्जुननरसिंह केसीको पहलमा ७१ दशमलव ९३ किलोमिटर बाहिरी चक्रपथ निर्माणको कार्यले मूर्तरूप लिने भएको हो । आगामी आर्थिक वर्षदेखि यो चक्रपथ निर्माणको प्रथम चरणमा चोभार, गाम्चा र सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटरमा निर्माण शुरू हुनेछ । प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गा धनी रहेका छन् । चक्रपथको कुल लम्बाइमध्ये काठमाडौंमा ३५ दशमलव ०८ किलोमिटर, ललितपुरमा १५ दशमलब ८० किलोमिटर र भक्तपुरमा २१ दशमलव ०५ किलोमिटर हुने मन्त्रालयले जनाएको छ । नौ महिनाअघि शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै मन्त्री केसीले चक्रपथ निर्माणको कामलाई अगाडि बढाउन मन्त्रालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो । चक्रपथ निर्माणको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि परिमार्जनसहित तयार भइसकेको छ । उपत्यकामा शहरीकरण र गाउँबाट शहरमा बसाई –सराइ भई आउने जनताको ओइरोलाई मध्यनजर गरेर मन्त्री केसीले व्यवस्थित शहरीकरण र सुन्दर उपत्यकाको निर्माणको लागि चक्रपथ निर्माण प्रक्रियालाई तीव्रताका साथ अगाडि बढाइने बताउनुभयो । काठमाडौं उपत्यकाका तीनवटै पुराना शहर र अन्य नवघोषित नगरपालिकाहरूलाई एउटै सडक सञ्जालको माध्यमबाट आपसमा जोडेर व्यवस्थित शहरीकरण गर्ने दीर्घकालीन सोचअनुरुप बाहिरी चक्रपथ निर्माण हुन लागेको हो । बाहिरी चक्रपथको ५० मिटर अधिकार क्षेत्रसहितको मूल सडकको सम्पूर्ण निर्माण खर्च नेपाल सरकारबाट बेहोरिने भएको छ । सरकारले बाहिर चक्रपथ निर्माणमार्फत बढ्दो ट्राफिक जामलाई कम गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित : 30 April, 2017

प्रतिक्रिया दिनुहोस्