राजपाले स्थानीय तहको निर्वाचनको विरोधमा आन्दोलन गर्ने

सहयात्रा टिभी

काठमाडौं । संविधान संशोधन विधेयक तत्काल पारित नहुने भएपछि राष्ट्रिय जनता पार्टी नेपाल आन्दोलनमा जाने भएको छ । काठमाण्डौमा लगातार दुई दिन बसेको राजपाको शीर्ष नेताको बैठकले संसदमा दर्ता भएको संशोधन विधेयक तत्काल पारित नहुने निश्कर्ष निकाल्दै संघर्षमा जाने निर्णय गरेको हो । काठमाडौंको विजुलीबजारस्थित राजपा केन्द्रीय कार्यालयमा आन्दोलनका कार्यक्रम घोषणा गरिने अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले जानकारी दिनुभयो ।  दोस्रो चरणको निर्वाचनमा राजपालाई सहभागी गराउने भन्दै सरकारले तराई मधेशमा स्थानीय तहको संख्या थप्ने निर्णय गरेपनि प्रतिपक्षी एमालेले विरोध गर्दै संसद बैठक अवरुद्ध गरेपछि निर्वाचनमा जाने वातावरण नबनेको राजापा शीर्ष नेताको निश्कर्ष छ । राजपाको माग सम्बोधन गर्दै सरकारले टीकापुर घटनामा संलग्न भएको भन्दै पक्राउ परेकाको मुद्दा फिर्ता, मधेश आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा लगायतमाग पुरा गरिसकेको छ ।  निर्वाचनबाटै राजनीतिक एजेण्डा स्थापित गर्ने बिषयमा अन्य मधेश केन्द्रित दलसंग छलफल भएपनि शीर्ष नेताले आन्दोलनमै जोड दिएपछि राजपाले संघर्षको कार्यक्रम घोषणा गर्न लागेको हो । उपेन्द्र यादवको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरम दोस्रो चरणको निर्वाचनको तयारीमा जुटेपनि राजपाले भने आन्दोलनलाई निरन्तरता दिने भएको हो । राजपाका दोस्रो तहका नेताले भने मधेशको जनमत आन्दोलनको विपरित जाने तर्फ सचेत गराउदै सचेत बन्न शीर्ष नेताको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्