केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संसद्‍मा एमालेको लगातार अवरोध

सहयात्रा टिभी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबारको संसद् बैठक पनि अवरुद्ध गरेको छ । दिउँसो १ बजेपछि सुरु संसद् बैठक कार्यसूचिमा प्रवेश गर्न नपाउँदै एमाले सांसदहरु आ-आफ्ना ठाउँबाट उठेका थिए । सभामुख ओनसरी घर्तीमगरले आशनग्रहणका लागि पटक पटक आग्रह गरेकी थिइन् । तर, एमाले सांसद्हरु चुपचाप उभिइरहे ।

एमालेलगायत विपक्षी गठबन्धनले स्थानीय तहको निर्वाचनको बेला तहको संख्या थप गरेको र प्रधानन्याधीश सुशीला कार्कीमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्दै संसद् सञ्चालन हुन दिएको छैन । हिजोको पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन दिएको थियो भने दोस्रो बैठक चल्न दिएन ।

मंगलबार र बुधबार पनि विपक्षीले अवरोध गर्ने चेतावनीपछि बैठकको समय निर्धारण गर्दै स्थगित गरिएको थियो ।

विपक्षीको अवरोधका कारण आगामी आर्थिक वर्ष २०७४/०७५ को प्रि-बजेटमाथिको छलफल समेत रोकिएको छ ।  आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सदनलाई जानकारी गराउने, राष्ट्रपतिबाट सदनमा भएको सम्बोधनको प्रति टेबल गर्ने तथा संसद् अधिवेशनलाई राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूची संसद् सचिवालयले निर्धारण गरेको थियो ।

 

प्रकाशित : 26 May, 2017

प्रतिक्रिया दिनुहोस्