केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोहोरो चरित्र नदेखाउन एमालेलाइ प्रधानमन्त्रीको आग्रह

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बिपक्षी नेकपा एमालेले दोहोरो चरित्र देखाउने गरेको आरोप लगाउनु भएको छ । व्यवस्थापिका संसद्को बैठकमा नीति तथा कार्यक्रममाथि उठेका सवालहरुबारे जवाफ दिंदै प्रधानमन्त्री दाहालले एमालेले कोठामा एउटा र बाहिर अर्को बोली बोल्ने गरेको आरोप लगाउनुभयो । दोस्रो चरणको निर्वाचनको मिति घोषणा गर्दा आफूले एमाले अध्यक्ष केपी ओलीको निवास पुगी सहमति लिएको तर अध्यक्ष ओलीसहित एमालेका नेताहरुले सरकार एकल ढंगले अघि बढ्यो भनेर झूठा कुरा गर्दा आफू चकित परेको बताउनुभयो । उहाँले चुनौती मोलेर भए पनि आफूले स्थानीय तहको पहिलो चरणको निर्वाचन गराएका कारण प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पहिलो दल हुन पाएको धारणा राख्नुभयो । निर्वाचनको परिणामलाई हेरेको भए निर्वाचन सम्भव नहुने भन्दै उहाँले भन्नुभयो, ‘निर्वाचनको परिणामलाई हेरेको भए मैले पनि चुनाव नगराउन सक्थें, तर म व्यक्तिगत र दलगत स्वार्थ र अन्य ठूला र पुराना संसदवादी दल भन्दा फरक रहेकै कारण निर्वाचन गराउनु नै राष्ट्र र जनताको हितमा छ भनेर चुनौती लिएको हुँ।’
नीति तथा कार्यक्रम ल्याउँदा समेत प्रतिपक्षी दलका नेतासँग सल्लाह गरिएकोले यसको बिरोध गर्नुको कुनै तुक नभएको उहाँले बताउनुभयो ।
असन्तुष्ट दलको समेत माग पूरा गर्न स्थानीय तहको निर्वाचन दुई चरणमा गर्नुपरेको र दुई निर्वाचनको बीचमा बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधानलाई बुझेर नीति तथा कार्यक्रममा कुनै पनि नयाँ कार्यक्रम नल्याएको उहाँले बताउनुभयो ।
नीति तथा कार्यक्रम नयाँ ढंगले ल्याएको भए प्रतिपक्षले सदन चल्न नदिने र त्यसैका कारण दोश्रो चरणको निर्वाचन गराउन नसकिने भएकाले आफूले नयाँ कार्यक्रम नल्याएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्