केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुलबहादुर पत्नीको प्रश्न: न्यायाधीश वा पुहँचवाला ब्यक्तिको छोरा मारिएको भए यस्तै आदेश आउथ्यो हजुर ?

सहयात्रा टिभी

काठमाडौं । मेरो श्रीमान जस्तै न्यायाधीश वा पहुँचवाला ब्यक्तिका छोरा वा पती मारिएको भएको भए यस्तै आदेश आउथ्यो त हजुर ? अपराधीहरु यसरी नै खुलेआम उल्टै धम्की दिएर हिडने थिए त हजुर ? यस्तो आदेशले हामी परिवारका सदस्यमाथि कस्तो बज्रपात भयो होला ? हजुरहरुले कल्पना पनि गर्न सक्नु हुन्न,’ अत्यन्तै पीडादायी यी भनाई गौरीशंकर गाउपालिका–१ जुँगु निवासी साङमाया तामाङको हो । उनी स्थानीय तह निर्वाचनको क्रममा गत बैशाख २६ गते राती नेकपा माओवादी केन्द्रका कार्यकर्ताले चारैतिरबाट घेरा हाली हत्या गरिएका कुलबहादुर तामाङकी बिधवा हुन ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मृतक कुलबहादुरकी पत्नी साङमायाले भनिन, ‘के हामीले न्याय नपाउने नै हो त ? हामीलाई तपाईहरुले न्याय दिलाउनु पर्यो भन्न आएका हौं ।’ कुलबहादुर पत्नी साङमाया आफ्ना नाबालक छोरा छोरीसहित न्यायको खोजीमा सिंगो परिवारका साथ काठमाडौं आइपुगेकी छन । उनको साथमा कुलबहादुरका पिता गोरे तामाङ, छोरी संगिता तामाङ, छोरा अशोक तामाङ, भाईहरु कर्णबहादुर तामाङ र जीवन तामाङ काठमाडौं आएका छन । उनीहरुले परिवारको तर्फबाट न्यायका लागि अपिलसमेत गरेका छन ।
पीडित परिवारले न्यायको सवै ढोका ढकढक्याउने जनाई कतैबाट न्याय नपाएमा सामुहिक आत्मदाह गर्ने जनाउ समेत दिएको छ । ‘सरकार, अदालत सवैतिरबाट यसैगरी अन्याय हुन्छ र अपराधीहरुलाई नै साथ दिइन्छ भने हाम्रो सिंगै परिवार काठमाडौंको सडकमै आत्मदाह गर्न बाध्य हुने जानकारी तपाईहरु मार्फत जानकारी गराउन चाहन्छौं । न्याय दिने कि हाम्रो परिवारलाई आत्मदाह गर्न बाध्य बनाउने ? एउटा निमुखा र निर्दाेष हामी तामाङ परिवारलाई साथ दिने कि प्रभाव, पहुँच र दवावको आधारमा न्याय मार्ने भन्ने बिषयमा तपाईहरु सवैले गम्भीरतापुर्वक सोचि दिन पनि निवेदन गर्दछौं,’ पत्रकार सम्मेलनमा मृतकका पिता गोरे तामाङ र पत्नी साङमायाले भने ।
पीडितले दिएको जानकारी अनुसार वैशाख २६ गते राती जुँगुको निलकण्ठेश्वर उच्च माबिको चउरमा उहाँँलाई भाला रोपेर हत्या गरिएको थियो । उनीहरुले कुलबहादुरको हत्याबाट मर्माहत बनी न्यायका लागि कुरेर बसेको बेला जिल्ला अदालत दोलखाको आदेशबाट निकै मर्माहत बनेका दुखेसो गरे । ‘त्यो आदेशले मारिएका हाम्रा सदस्य कुलबहादुरको मात्रै होइन, सिंगै न्यायकै हत्या भएको अनुभुति पनि गरिरहेका छौं,’ मृतकका पिता गोरे तामाङले भने ।
बैशाख २६ गते राती माओवादी नेतृ देवी खड्काको नेतृत्वमा स्थानीय बसन्त कार्कीको घरमा बैठक वसी योजनाबद्ध रुपमा खाजा खाईरहेको स्थानमा आक्रमण गरी हत्या गरेको पक्राउ परेका अभियुक्तबाट स्वीकार गरिए पनि अदालतले गलत आदेश गरेको उनीहरुको बुझाई छ । जुँगु हत्याकाण्डमा संलग्नमध्ये एन्ड्रिज कार्की, सुरेश कार्की, प्रेम तामाङ्ग, गोपाल तामाङ्ग, निलम जिरेल, प्रेम वहादुर तामाङ्ग लगायतका ९ जनालाई पक्राउ गरी अनुसन्धान गर्दा हत्यामा उनीहरुले घटनामा संलग्नता स्वीकार गरेको पीडितको अपिलमा उल्लेख छ । ‘तर जिल्ला अदालत दोलखाका माननीय न्यायाधीश लालकाजी श्रेष्ठज्यूको ईजलासले कर्तव्य ज्यान जस्तो जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई साधारण तारेखमा छाड्ने आदेश गरेको कुराले हामी अत्यन्तै मर्माहत बनेका छौं । त्यो आदेशपछि हामी मरेतुल्य बनेका छौं । साह्रै विचलित पनि भएका छौं,’ पीडित परिवारको भनाई छ ।
अभियुक्तलाई साधारण तारेखमा छाडने सम्मानित अदालतको आदेश देख्दा न्यायकै हत्या भएको र न्यायको लागि आफूहरु जस्ता पीडितहरुले सम्मानित अदालतको भरोशामा रहने दिन सकिएको हो कि भन्ने महसुस गरेका अनुभुति पनि उनीहरुले सुनाए । ‘गाउँमा बस्ने सोझा सिधा तामाङहरुले जे गर्दा पनि चुपचाप अन्याय सहेर बस्छन भन्ने अनुभुति सम्मानित अदालतको आदेशमा झल्किएको महसुस हामीले गरेका छौं । यस्तो आदेशले अपराध नियन्त्रण नभई अपराधीलाई नै सहयोग गर्ने र हामी जस्ता न्यायका पुजारी पीडामाथि पीडा थप्दै बस्नु पर्ने डरलाग्दो अवस्था सिर्जना गर्ने बुझाई पनि तपाईहरु मार्फत राख्न चाहन्छौं,’ पीडितले भने । उनीहरुले न्यायालयप्रति उच्च सम्मान रहेको भन्दै सो आदेश सच्याउन पनि माग गरे ।
‘नेपाली नागरिकका हैसियतले कानुनको पालना गर्नु हाम्रो कर्तव्य र दायित्व हो । तर हामी जस्ता असहायले मात्रै न्यायका लागि लडनु पर्ने र कानूनको पालना गर्नुपर्ने हो ? कि सवैले कानूनको पालना गर्नुपर्छ ? के न्यायाधीशको परिवारमा यस्तो जघन्य हत्या भएको भए यस्तै आदेश आउथ्यो ? यस्तो आदेशले हामी परिवारका सदस्यमाथि कस्तो बज्रपात भयो होला ? कल्पना पनि गर्न सक्नु हुन्न । हामी न्यायपालिका स्वतन्त्र र निश्पक्ष हुन्छ भन्नेमा विश्वस्थ थियौं र छौं । तर उक्त मुद्दामा माननीय न्यायाधीशज्यूले मुद्दा हेर्दै नहेरी आफूखुसी पीडितलाई नै पीडा दिँदै पीडकको पक्षमा आदेश दिने काम भएको छ । ज्यान मुद्दाको सम्वेदनशिलता नै नबुझी सवै अभियुक्तलाई साधरण तारेखमा छाडन आदेश दिइएको छ । यस्तो आदेशले हामी जस्ता असहाय पीडित परिवार हर क्षण, हरपल मरिरहेको छौं,’ पीडितले भनेका छन ।
अभियुक्त छुट्ने गरी भएको आदेशबाट आफू निकै मर्माहत भएको र सोही कारण न्याय माग्दै काठमाडौं आएको जानकारी पनि उनीहरुले दिए । ‘यो आदेशले हत्या भएका कुलबहादुर तामाङको मात्रै अपमान भएको छैन, न्यायको पक्षधर र न्यायालयकै अपमान भएको छ भन्ने अनुभुति गरी सच्याउनका लागि दवाव दिँदै तपाई पत्रकार ज्यूहरुको शरणमा परेका छौं । अन्यायमा परेका पीडितलाई तपाई पत्रकारहरुले सधै न्याय दिँदै आउनु भएको छ, न्यायको लडाईमा साथ दिनुभएको छ । जुँगुमा भएको त्यो हत्याकाण्डमा पनि तपाईहरुबाट न्याय पाउने अपेक्षा हामीले गरेका छौं । यही कारण तपाईहरु माझ आइपुगेका हौं,’ अपिलमा भनिएको छ ।
पीडित परिवारले जिल्ला अदालतको आदेशबिरुद्ध सवै प्रकारको कानूनी उपचार खोज्ने भन्दै न्यायपरिषदमा उजुरी गर्नेसम्मको संकेत पनि गरेको छ । ‘हामी न्यायका लागि अन्तिमसम्म लडिरहन्छौं । जिल्ला अदालतको त्यो आदेश विरुद्ध हामी न्यायका सम्भाव्य ढोकाहरु ढक्ढक्याउने सवै कानुनी बाटो अबलम्बन गर्न बाध्य भएका छौ । यो अपिल सार्वजनिक गर्नुको उदेश्य पनि सम्मानित अदालतको गरिमा र विश्वासलाई टुटाउने र अपहेलाना गर्ने उदेश्य होईन,’ अपिलमा भनेका छन, ‘सम्मानित अदालतले न्याय निरुपणको शिलशिलामा स्वतन्त्र भई निश्पक्ष न्याय सम्पादन गरोस । पारदर्शिता अपनाओस, दोषीलाई कार्वाही होस, पीडितले न्याय पाओस, व्यक्तिको पहुँच, प्रभाव र दवाबका आधारमा न्याय नबेचियोस भन्ने हाम्रो अपिल हो । अभियुक्तहरुले घटनामा संलग्नता स्विकार गर्दा गर्दै पनि अनुचित प्रभावमा परेर वा सोझा सिधा तामाङ परिवारले केही गर्न सक्दैन, बोल्दैन भनेर आएको अदालतको आदेशले हामी साह्रै अन्यायमा परेको हुँदा न्यायको खोजीमा यो सार्वजनिक अपिल गरेका छौं ।’ पीडित परिवारले न्याय नपाई घर नफर्कने भन्दै न्याय प्राप्तीको लडाईमा साथ दिन सञ्चार क्षेत्र, राजनीतिक दल, नागरिक समाज, मानवअधिकार वादी संघ संस्था लगायत सवैलाई आग्रह गरेका छन ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्