केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘राजपाको नियतमै शंका’

सहयात्रा टिभी

काठमाडौं । सत्तारुढ दलहरुसंगको वार्ताको क्रममा राजपाले सकभर प्रदेश नम्बर २ र ५ नभए कम्तिमा दुइ नम्बर प्रदेशको भएपनि निर्वाचन सार्न आग्रह गरेको थियो । एमालेको दवावका कारण सत्तारुढ दलहरुले समर्थन जनाउन सकेका थिएनन । अर्को दिन निर्णायक वार्ता भन्दै सिंहदरवारमा भएको छलफलमा २ नम्बर प्रदेशको निर्वाचन सार्न सत्तारुढ दल तयार भए । राजपाका तर्फबाट महन्थ ठाकुर, शरत्सिंह भण्डारी लगायतका नेता छलफलमा सहभागी थिए । उनीहरुसंगको सहमतिमै दुइ नम्बर प्रदेशको निर्वाचन अशोज २ गतेका लागि सारिएको हो । यो निर्णयमा काठमाडौं बाहिर रहेका राजेन्द्र महतो र राजकिशोर यादवले आपत्ती जनाए । उनीहरुले विरोध गरे । संविधान संशोधन र स्थानीय तहको संख्या नथपिएसम्म चुनावमा नजाने घोषणा गरे । यो कुरा काठमाडौंमा मौखिक सहमति गर्ने महन्थ र शरत्सिंहका लागि गलपासो बन्यो । अन्ततः उनीहरु महतो र यादवसगै घिसारिन बाध्य बनेको स्थिति देखिएको छ ।

आफू भित्रको फुट लुकाउन उनीहरु आफनो सहमति बिना निर्वाचन सारिएको तर्क गर्न थालेका छन । यसअघि दाहाल सरकारले जेठ ३१ गतेका लागि तय गरिएको निर्वाचन राजपाकै लागि भनेर अषाढ ९ हुँदै १४ गतेसम्मका लागि सारेको थियो ।
राजपाको नियतमै खोट देखिन थालेको छ ।

संयुक्त लोकतान्त्रिक मधेश मोर्चामा एकसाथ रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राजपाका सबै रहस्य एक–एक गरी सार्वजनिक गर्न थालेका छन । मधेशका लागि अधिकार होइन पहाडबाट बिभाजन खोजेको, अलग राष्ट्र खोजेको भन्ने लागेका आरोप बलिया हुँदै गएका छन । एमालेका उपाध्यक्ष भीम रावलले भारतको पटना सम्मेलनमा मधेशलाइ अलग राष्ट्र बनाउने विषयमा छलफल भएको बारे केही महिना अघि तथ्य सार्वजनिक गरेका थिए । त्यो बेला धेरैले यसलाइ उडन्ते गफ भन्दै टीप्पणी गरे । तर, आज त्यो तथ्य सावित हुँदै गएको त होइन, गम्भीर आशंका उत्पन्न भएको छ ।

तत्काल संविधान संशोधन र स्थानीय तहको संख्या थप्न सम्भव छैन भन्ने जान्दा जान्दै पनि राजपा किन यही ढिपीमा छ ? आफै चुनाव सार्न प्रस्ताव गर्ने, चुनाव सारेपछि हाम्रो माग त्यो होइन भन्दै हिंडने कुन राजनीतिक संस्कार हो ? राजपाका विषयमा अब सबै राजनीतिक दलहरुले गम्भीर समीक्षा गर्न जरुरी छ ।

प्रकाशित : 16 June, 2017

प्रतिक्रिया दिनुहोस्