चुनाव भएपछि एमालेले जित्छ, सरकार बनाउँछ: ओली

सहयात्रा टिभी

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र केन्द्रीय संसदको निर्वाचनमा एमालेले प्रष्ट बहुमत ल्याएर एकल सरकार बनाउने उदघोष गर्नुभएको छ । वैदेशिक रोजगार व्यवसायी संघको यही असार ३० गते हुने निर्वाचनमा रोहन गुरुङ नेतृत्वको ‘संयुक्त व्यावसायिक समूहले बुधबार आयोजना गरेको अन्तिम चुनावी सभालाई सम्वोधन गर्दै ओली सो घोषणा गर्नुभएको हो । ‘अव हुने प्रदेश र केन्द्रको चुनावमा एमालेले स्पष्ट बहुमत ल्याउँछ, एकल सरकार बनाउँछ र बैदेशिक राजेगार लगायत सवै क्षेत्रको समस्या समाधान गर्छ, कोही पनि अन्यायमा पर्दैनन,’ पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले भन्नुभयो, ‘भर्खरै स्थानीय निर्वाचनको परिणाम सार्वजनिक भएको छ, एमालेको कुन पोजिसन छ, यति कुरा थाहा भएपछि अब प्रदेश र संघीय निर्वाचनमा एमालेको कुन पोजिसन हुन्छ भन्नै पर्दैन । त्यसपछि एमालेकै एकल नेतृत्वमा सरकार बन्छ । तपाईँहरुका माग त्यही सरकारले पूरा गर्छ ।’

ओलीले मुलुकमा पद र पैसाका लागि जे पनि गर्ने पक्ष र देश पहिला, त्यसपछि मात्रै अन्य भन्ने पक्षबीच जताततै लडाई भइरहेको भन्दै बैदेशिक रोजगार ब्यवसायी संघमा रोहन गुरुङको नेतृत्वमा उम्मेदवार बनेका ब्यवसायीहरु देश बनाउने पक्षधर भएकोले जिताउनै पर्ने बताउनु भयो । देशमा जातीय द्धन्द्ध फैलाएर सर्वनाश पार्ने अवस्थामा नेपाली जनताले विवेक पुर्याएर सर्वनाश हुनबाट जोगाएको भन्दै ओलीले जनतालाई धन्यवाद दिनुभयो । उहाँले स्थानीय निर्वाचनमा सत्ता पराजित र लोकतन्त्रको जित भएको पनि दाबी गरे । ‘लोकतन्त्रको जित भएपछि अहिले केही मानिसहरु फत्रक्क, फत्रक्क खसेका छन्,’ उहाँ भन्नुभयो, ‘यो देख्दा दुःख लाग्छ ।’ उहाँले नेपाली जनताले विकास चाहेको भन्दै भोकै बसेर अधिकारको लडाईँ लड्न नसक्ने दाबी गर्नुभयो । ‘हिउँदमा कपडा नदिएर बाबु न्यानोसँग बस् है भनेर हुँदैन,’ ओलीले भन्नुभयो, ‘वेरोजगार बनाउनेहरुले प्रधानमन्त्री बन्ने र रोजगारीको अवसर प्रदान गर्नेले केही पाउनु नुहुने भन्ने हुँदैन ।’ उहाँले नेपाल कस्तो बनाउने भनेर हामी लडिरहेको भन्दै राष्ट्र र राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।

प्रकाशित : 13 July, 2017

प्रतिक्रिया दिनुहोस्