खोलाबाट पसेको बाढी र आँखाबाट झरेको बाढी सँगै मिसिँदा आँगन र वरपर सबै जलमग्न भईरहदा अनि गरिविका कारण उपचार नपाउदा मैले अकालमा मृत्युवरण गर्नुपर्यो : कोशीमा बगिसकेको कमलको चिट्ठी

सहयात्रा टिभी

दुःखी बाआमा, काका, परिवार र आफन्तजन । अनि मेरो तस्बिर देखेर बलिन्द्र आँसु बगाउने तपाईं सबैलाई मेरो लाखलाख सम्झना । आशा छ यो पत्र तपाईंले पढ्दै गर्दा मेरा बाआमा, परिवार, आफन्त र छिमेकी सबैको घरमा छेलोखेलो राहत पुगेको होस् । शोकमा डुबेको मेरो परिवार बिस्तारै तंग्रँदै होस् । सबैथोक भत्किएपछि मात्र झल्याँस्स हुने सरकार अब बिग्रन, भत्किन र नोक्सान हुनै नदिने योजना बुन्दै होस् । विश्वास पटक्कै नभए पनि थोरै आश राखेको छु ।

आमा तपाईंको काख रित्तो पारेर कोशीमा बगेको पनि हप्तादिन भैसकेछ । काकाले सुतेकै थाङ्नो र लुगामा गुटुमुटु पारेर होसियारीपूर्वक थपक्क छाडिदिनुभएकाले म अझै कमलको थुँगो झैं फक्रिरहेको छु । देख्दैछु, तपाईंहरुका आँखा अझै ओभाएका छैनन् ।
हेर्नुहोस् त कोशीको भेल कम भैसक्यो, अब तपाईंहरुको आँखाबाट उर्लेको भेल पनि रोकिनुपर्छ । बा, आमा र काका रुन छाड्नुहोस् । एकछिन आँखा चिम्म गर्नुहोस् त, म तपाईंहरुकै आँखाभित्र छु । चिम्लिँदा देखिन्छु ।

अब म तपाईंहरुको आँखाभित्र मात्र होइन, सबै नेपालीको मुटुभित्र अटाइसकेको छु । सबैको आँखाको नानी बनेको छु । म कमल अब मेरो बाआमाको मात्रै होइन, सबै नेपालीको साझा थुँगो भएको छु । त्यसैले आज सबैलाई सम्बोधन गरेर यो पत्र लेख्दैछु । केही दिनदेखि बिरामी थिएँ । बिरामी हुने बित्तिकै अस्पताल पुग्ने भाग्य हामी गरिबहरुलाई कहाँ जुर्छ र ? बाले दिनरात मजदुरी गरेर कमाएको पैसाले बिहान बेलुका छाक टार्न मुश्किल पर्छ । आमाले आफ्नो गास कटाएर खुवाएको भातले पनि पेट भरिन्न । भाततिउनले पेट भर्नै मुश्किल पर्ने हामीजस्तालाई अस्पतालसम्म पुग्ने, जँचाउने र औषधि खाने खर्च कसरी जुट्छ र ?

निको हुने छाँट नदेखेपछि आमा र काकाले अस्पताल लैजान खोज्नुभएको त थियो । तर अस्पतालतिर बाटो हेर्दाहेर्दै आँगनमा बाढी पस्यो । आँगनबाट पिंढीको डिल हुँदै घरभित्र बाढी पस्दा म ओछ्यानमै ढलेको थिएँ । छेउमा आमा हुनुहुन्थ्यो । सुँक्कसुँक्क गर्दै आमा कहिले मेरो टाउको छाम्नुहुन्थ्यो, कहिले आफ्नै । अलिअलि भएको अनाज भिज्न लाग्यो भनेर ओभानो ठाउँ खोज्नुहुन्थ्यो । तर आमाले न अनाज राख्ने ठाउँ भेट्नुभो, न मेरो सास अड्याउने उपाय ।

घरभित्र पानीको पोखरीसँगै आमाको आँखामा आँसु भरिए । आमाको आँखामा एकटकले हेर्दै्थिएँ, चारैतिर अन्धकार भयो । घरभित्र अलिअलि बल्न खोजेको दियो झ्याप्पै निभ्यो । बाआमाको सहारा गर्लम्मै ढल्यो । आफ्नो सहारा कहिल्यै नउठ्नेगरी ढलेपछि आमा भाउन्न भएर लड्नुभयो । काका र परिवारका अरु सदस्य डाँको छाडेर रुन थाले ।दैवको लिला । भाग्यको खेल । गरिब हुनुको पीडा । रोएर हुने पनि केही थिएन । तैपनि आमा उठ्न सक्नुभएन, सम्हालिन सक्नुभएन ।

काकाले म सुतेको ओछ्यानसमेत बोकेर मलाई आँगनमा ल्याउनुभयो । बिसाउने र राख्ने ठाउँ कहीँ थिएन । खोलाबाट पसेको बाढी र आँखाबाट झरेको बाढी सँगै मिसिँदा आँगन र वरपर सबै जलमग्न थियो । माटो नदेखेपछि परिवारले पानीको बाटो रोजे । काका गह्रौं पाइला चाल्दै कोशीतिर लाग्नुभयो । फूलपाती सेलाएझैं थपक्क पानीमाथि कमलको फूल बगाएर काका भक्कानिदै फर्कनुभयो । म चुपचाप बगिरहेँ ।
म बगेको देखेर तपाईंका आँखामा पनि आँसु बगेछन् । बाआमा, काका र छिमेकीको आँखा त अझै पनि ओभाएका छैनन् । मजस्तै भोलिका कर्णधारको हक, हित र अधिकारको पक्षमा मनाइने बाल दिवसकै मुखमा मेरो ज्यान कोशीमा हेलियो । जन्मिएपछि रोग, भोक र शोकको रोकतोकमा नअल्झिकन हाँसीखुशी फुल्न र फक्रिन पाउने मेरो बालअधिकार त पूरा भएन नै । मरेपछि आफ्नै जमिनमुनि बसेर आफ्नै माटोको सुगन्ध पाउने हक पनि खोसियो ।

साँच्चै मेरो हाल देखेर क–कसका आँखा रसाए होलान् ? मजस्तै हरेक नागरिकको दुःखमा सधैँ साथ दिन्छु भन्ने सरकार र दलका मान्छेका पनि आँखा रसाए होलान् त ? ढुंगाको मुटु थिएन भने त साँच्चै रसाए होलान् । साँच्चै रसाएका हो भने मेरो एउटा बिन्ती छ, आफ्नै आँखामा फेरिफेरि आँसु बग्न नदिने कामको लागि । आफ्नै लागि, आफ्नै आँखाका लागि, आफ्नै हाँसोका लागि, अनि आफ्नै खुशीका लागि । परिवार गरिब नभएको भए म बिरामी हुने बित्तिकै अस्पताल जान पाउँथें । अस्पतालबाट निको भएर घर फर्केको हुन्थें । कति धेरै बाधा व्यबधानसँग जुध्दै आएको मलाई बाढी र डुबानले सितिमित निल्न सक्दैनथियो ।

म अहिले त्यही कोशी किनारमा उभिएर आमाको धोतीको फेर समाउँदै राहत थापिरहेको हुन्थें । राहत बाँड्न आउने सुकिलाहरुले दिएको चाउचाउ खाएर अरु केटाकेटीसँगै हाँसिरहेको हुन्थें । राहत दिनेहरुको सेल्फीमा पनि अटाउँथे होला । अनि घरबारी, अन्न, लत्ताकपडा बगाएपनि परिवारका सबै सकुशल देखेर बाले थोरै राहतको सास फेर्दा म छेउमै उभिएर बाको काँध समाइरहेको हुन्थें होला । मेरो स्पर्शले बाको आँखामा आशका मोती बगेको देखेर म कति खुशी हुन्थें होला । तर गरिबीकै कारण मैले यी सबथोक गर्न र देख्न पाइन । बाआमाको सहारा बन्न नपाई मैले सागरको बाटो रोज्नुपर्‍यो । यही माटोमा सुन फलाउन सक्ने भविष्यको कर्णधार मैले एक बित्ता माटो नभेटेर कोशीमा बग्नुपर्‍यो ।


मलाई त आफ्नो माटोको औधी नियास्रो लागेको छ । भन्छन् नि, जे कुरा आफूसँग हुँदैन, त्यसको चाहना धेरै हुन्छ । हो, मरेपछि पनि आफ्नो माटोको सुगन्ध लिन नपाउँदा मलाई त्यो माटोको औधी माया छ । तर मरेपछि, सकिएपछि, अरुले खोसेपछि, लगेपछि आफ्नो माटो पाउन मुश्किल हुने रहेछ । तपाईंहरु त अझै जिउँदो हुनुहुन्छ नि है ? आफ्नो माटो आफैसँग राख्ने बल गर्नुहोस् न ।

हरेक वर्ष कटान र डुबानले मेरो माटो सकिन लाग्यो । सुन फलाउने मेरो मधेसको माटो जोगाइदिनुहोस् न । गरिबी, अशिक्षा र अन्धकार हटाइदिनुहोस् न । तपाईंले आफ्नै हातले लेखेको संविधान, चुनावी घोषणापत्र, बालअधिकारको विषयमा गरिएका प्रतिबद्धता, भाषण र योजना एकपटक हेरिदिनुहोस् त । त्यहीँ लेखिएका र भनिएका कुरा मात्र गर्दा पुग्छ नि । आफैले गर्छु भनेको काम मात्रै गर्नुभयो भने मजस्तै अर्को कमलको थुँगो फेरि कोशीमा बग्नेछैन । मजस्तै तपाईंको अर्को भविष्य, देशको कर्णधार कोशीमा बगेन भने तपाईंको आँखाबाट पनि भल बग्नेछैन । आँखाबाट आँसुको भल बगेन भने तपाईं खुशी र स्वस्थ हुनुहुन्छ । आफ्नो खुशीका लागि पनि यत्ति गर्न सक्नुहुन्छ हैन र ?

मलाई थाहा छ, अरुको लागि नभएपनि आफ्ना लागि भनेपछि तपाईंका पाइला अघि सर्छन् । यत्ति कामको लागि तपाईंको पाइला अघि बढ्दा म तपाईं हिँड्ने बाटोको छेउमा उसैगरी फूलिरहनेछु । फक्रिरहनेछु । तपाईंको हरेक पाइलाको स्वागत गर्नेछु । बिन्ती म फुल्ने र फक्रन सक्ने बाटोमा हिँडिदिनुहोस् न ।

उही तपाईंहरु सबैको कमल
साभारः उज्यालो अनलाईन
तस्बिर इपिए

प्रकाशित : 19 August, 2017

प्रतिक्रिया दिनुहोस्