सप्तरीमा एकसय तीन वर्षीया वृद्धाद्वारा मतदान, ३५ प्रतिशत मत खस्यो
राजविराज । प्रदेश नं २ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तह निर्वाचनमा सप्तरीमा १०३ वर्षीया वृद्धाले मतदान गर्नुभएको छ ।
राजविराज नगरपालिका वडा नं ७ निवासी सोमानीदेवी जोशीले जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रबाट मतदान गर्नुभएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष एवं वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
जोशीले यसअघिका संविधानसभा निर्वाचनमा पनि मताधिकार प्रयोग गर्नुभएको थियो । सो मतदान केन्द्रमा जोशीले नै पहिलो मतदान गर्नुभएको बताइएको छ ।
यसैबीच तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत सप्तरी जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान भइरहेको र १० बजेसम्ममा ३५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले राससलाई बताउनुभयो ।
अत्यन्त हर्षोल्लासका साथ लामबद्ध भई महिला, पुरुष तथा युवायुवती मतदान कार्यमा धैर्यपूर्वक मतदान गरिरहेको अनुगमनका क्रममा पाइएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहमा पाँच हजार ५२७ उम्मेदवारलाई तीन लाख ३१ हजार ७९ मतदाताले मतदान गर्दैछन् ।