निजामती ऐनमाथि नै चुनौती दिदै उम्मेदवार बन्न कर्मचारीको लर्काे

सहयात्रा टिभी

काठमाडौं । त्यसो त नेपाल सरकारको सेवामा खटिएका कर्मचारी कुनै पनि राजनीतिक पद वा चुनावमा भाग लिन पाउदैनन् । तर राजनीति तथा राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन नपाउने निजामती ऐनको स्पष्ट प्रावधानलाई चुनौती दिँदै दर्जनौं कर्मचारी प्रदेशसभा एवं केन्द्रीय संसद्का लागि दलका तर्फबाट समानुपातिकमा धमाधम सिफारिसमा परेका छन् ।

विभिन्न दलबाट दर्जनौं कर्मचारी आसन्न दुवै सभा नर्वाचनका लागि समानुपातिकमा सिफारिसमा परिसकेका छन् भने सिफारिसमा पर्ने क्रम जारी रहेको कर्मचारीसम्बद्ध संगठनले बताएका छन् । ती कर्मचारीले निजामती सेवा ऐनविपरीत राजनीतिमा प्रत्यक्ष रूपमा सहभागी हुने उद्देश्यसाथ आफू निकटको दललाई प्रभावमा पारी समानुपातिकबाट सिफारिस गर्न लगाएका हुन् । कर्मचारीकै रुचि र दबाबमा उनीहरूनिकट दलले धमाधम सिफारिस गर्न थालेको स्रोतले जनाएको छ ।

निजामती सेवा ऐनको आचरणसम्बन्धी महलअन्तर्गत दफा ४४ मा निजामती कर्मचारीले राजनीतिमा भाग लिन नपाइने उल्लेख छ भने सोही ऐनको दफा ४९ मा निजामती कर्मचारीले कुनै पनि राजनीतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव पार्न नहुने उल्लेख छ ।

चौबीसै घन्टा देश र जनताको सेवामा समर्पित हुने शपथ खाएर निजामती सेवामा प्रवेश गरेका कर्मचारी निजामती सेवा ऐनका ती दुवै प्रावधानलाई उल्लंघन गर्दै हाकाहाकी राजनीति गर्दै राजनीतिक दलबाट समानुपातिक कोटामा सिफारिसमा पर्न थालेका हुन् ।

कर्मचारी समानुपातिकमा परेको सम्बन्धमा सरकारी निकाय भने मौन छ । सरकारी मौनताका कारण कर्मचारी धमाधम सिफारिस पर्ने क्रम बढेको हो आजको अन्नपूर्णपोष्टमा उल्लेख छ ।

प्रकाशित : 8 October, 2017

प्रतिक्रिया दिनुहोस्