केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्वोच्चले दिएको पछिल्लो आदेशसंगै मंसिर १० को चुनाव संकटमा

सहयात्रा टिभी

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा चुनावको प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्नुपर्ने भन्दै सर्वोच्चले दिएको आदेशसंगै मंसिर १० मा हुने पहिलो चरणको चुनाव संकटमा परेको छ । सर्वोच्च अदालतले बुधबार अर्को एक आदेश जारी गर्दै निर्वाचन आयोगलाई प्रत्यक्षतर्फको प्रदेशसभा र प्रतिनिधिसभा चुनाव छुट्टा छुट्टै मतपत्रमा गराउनुपर्ने आदेश दिएको छ । तर प्रदेशसभा र प्रतिनिधिसभा चुनाव छुट्टा छुट्टै मतपत्रबाट गराउने हो भने मंसिरमा १० गते चुनाव गराउन निर्वाचन आयोगलाई समस्या पर्ने देखिन्न्छ ।

आयोगले सर्वोच्चको पछिल्लो आदेशपछि अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन । छुट्टा छुट्टै मतपत्र छाप्दा मतपत्र छपाईमा दोब्बर समय लाग्छ भने मतपत्र खसाल्न मतपेटिका पनि थप्नुपर्ने हुन्छ । मतपत्र र मतपेटिका थपिएपछि तिनलाई व्यवस्थापन गर्न थप कर्मचारी र सुरक्षाकर्मीको समेत आवश्यक पर्छ ।

समानुपातिकतर्फको दुवै चुनाव एउटै मतपत्रमा गर्न सर्वोच्चबाट अनुमति पाइसकेको आयोगले त्यो मतपत्र छापेर सकेको छ । आयोगले प्रत्यक्षतर्फको मतपत्रको नमुना तयार गरी शुक्रबारदेखि छाप्ने तयारी गरिरहेको थियो । यो आदेशपछि अब उसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि एउटा मात्र मतपत्र छापेमा अदालतको अवहेलना ठहरिने छ । शुक्रबारदेखि मतपत्र छपाई नथालेमा नभ्याइने भनेर आयोगले यसअघि नै बताउँदै आएको थियो । मंसिर १० मा हुने पहिलो चरणमा प्रत्यक्षतर्फ हिमाली र उच्च पहाडी ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको चुनाव हुँदैछ ।

 

प्रकाशित : 25 October, 2017

प्रतिक्रिया दिनुहोस्