सन् २०२६/२७ का लागि एसीयूको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई
सहयात्रा टिभी
काठमाडौं । मंसिर ३, एसियाली क्लियरिङ युनियन (एसीयू) को अध्यक्षता सन् २०२६/२७ का लागि नेपाल राष्ट्र बैंकले पाएको छ ।

एसीयू सञ्चालक समितिको ५४औं बैठकले राष्ट्र बैंकलाई आगामी एक वर्षका लागि अध्यक्षता हस्तान्तरण गरेको हो ।
राष्ट्र बैंकको आयोजनामा एसीयूको स्थायी प्राविधिक समिति बैठक नोभेम्बर १७ र सञ्चालक समितिको ५४औं बैठक नोभेम्बर १८ मा काठमाडौंमा सम्पन्न भएको हो ।
बैठकमा अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण तथा नीतिगत सुधारका विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।
बैठकमा भारतीय रिजर्भ बैंकका गभर्नर लगायत सदस्य राष्ट्रका केन्द्रीय बैंकका उच्च अधिकारी, पर्यवेक्षक तथा एसीयू सचिवालय प्रतिनिधि सहभागी थिए ।
बैठकले सन् २०२७/२८ का लागि एसीयूको अध्यक्षमा सेन्ट्रल बैंक अफ म्यानमार र उपाध्यक्षमा भारतीय रिजर्भ बैंकलाई चयन गरेको छ ।
त्यस्तै सञ्चालक समितिको आगामी बैठक २०२७ जुनमा म्यानमारको नेपिडोमा आयोजना गर्ने निर्णय भएको छ ।
बैठकले एसीयू महासचिवालयले तयार गरेको २०२४/२५ को प्रतिवेदन पनि ग्रहण गरेको छ । स्थायी प्राविधिक समितिले गरेका सिफारिस समेत अनुमोदन गरेको छ ।
बैठकमा ‘डिजिटल इकोनोमी एन्ड क्रस बोर्डर रिजनल कोअपरेसन रोडम्याप’ विषयमा पनि छलफल भएको थियो ।
सन् १९७४ मा अन्तरदेशीय भुक्तानी कारोबार व्यवस्थित र सहजीकरण गर्ने उद्देश्यले स्थापना भएको एसीयूको सचिवालय इरानको तेहरानमा छ ।
यसमा बंगलादेश, भुटान, भारत, इरान, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान, मौरिसस, बेलारुस र श्रीलंका सहित ११ देशका केन्द्रीय बैंक आबद्ध छन् ।
एसीयूको द्विमासिक नेट सेटलमेन्ट प्रणालीले सदस्य राष्ट्रबीच हुने भुक्तानीमा सम्भावित कठिनाइ कम गर्दै कारोबार सहज बनाउन सहयोग गर्ने विश्वास राष्ट्र बैंकले व्यक्त गरेको छ ।
