केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालक हत्या प्रकरण : झापाको बिर्तामोड तनावग्रस्त

सहयात्रा टिभी

झापा । झापाको बिर्तामोड तनावग्रस्त बनेको छ । दशैँको टिकाको भोलि पल्ट हत्या गरिएको अवस्थामा फेला परेका अर्जुनधारा ११ का ११ वर्षिय लक्ष्मण शिवाकोटीको हत्याको विरोधमा स्थानीयले निकालेको र्‍यालीमा प्रहरीले दमन गर्दा तनावग्रस्त बनेको हो ।
प्रहरीले दर्जनौं राउण्ड रवरका गोली चलाएको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्‍यालीमा प्रहरीले दमन गरेको भन्दै सर्वसाधारणले नारावाजी गरिरहेका छन् । शनिश्चरे रोडबाट आज बिहान निकालिएको र्‍याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले रोकेको थियो ।

प्रहरीको अवरोधलाई छिचोलेर विरोध र्याली अगाडि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज तथा गोली प्रहार गरेको हो । शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । त्यसपछि प्रहरीले गोली प्रहार गर्न शुरु गरेको स्थानीय पत्रकार पुजन घिमिरेले बताए ।

तर, जिल्ला प्रहरी कार्यलयका एसपी विष्णु केसीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यासमात्र प्रहार गरेको बताए । उनले झडपमा के कति घाइते भए भन्ने यकिन भैनसकेको पनि बताए ।

प्रहरीले गल्ली गल्ली पसेर सर्वसाधारणलाई कुटपिट गर्नुका साथै अपशब्द बोलेको स्थानीयले बताएका छन् । प्रहरीले काम गर्न कार्यालय तथा पसलमा गएका सर्वसाधारणलाई समेत कुटपिट गर्न थालेपछि विर्तामोड अत्यन्त त्रसित बनेको छ ।

दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षीय लक्ष्मण शिवाकोटीको शब त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का शुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जनाबिरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयबासीले आज विर्तामोड बन्दको घोषणा समेत गरेका छन् ।

प्रकाशित : 27 October, 2017

प्रतिक्रिया दिनुहोस्