केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज हरिबोधिनी एकादशी, तुलसीको पूजा गरि मनाईदै

सहयात्रा टिभी

काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । आज देशभरका नारायण मन्दिरमा तुलसीको पूजा गर्ने प्रचलन रहेको छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाहसमेत गरिन्छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो ।

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रुपमा पनि लाभदायक प्रमाणित भएको छ । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महौषधि मानिन्छ ।

हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास छ । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । आजको ठूलो एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ ।

प्रकाशित : 31 October, 2017

प्रतिक्रिया दिनुहोस्