मधेसी दल चुनावी एजेण्डामा भन्दा गालीगलौचमा अगाडि, अधिकारको एजेण्डा अलपत्र

सहयात्रा टिभी

काठमाण्डौं । स्थानीय चुनावमा अशान्त बनेको तराई मधेस अहिलेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उत्साही देखिएको छ ।  लामो आन्दोलनको सकस भोगेको मधेसमा विकास निर्माणका एजेण्डा बग्रैल्ती छन् । तर, चुनावी माहौल र शैली चाँहि फरक छ । आसन्न निर्वाचनमा मधेसमा एजेण्डाको माहौल भन्दा पनि विपक्षीलाई गाली गर्ने र जातिवादी कुराहरुको उठान नै बढी देखिएको छ ।

आन्दोलनपछि अधिकार स्थापित गर्ने अभियानमा रहेका मधेसी दल यो चुनावलाई अधिकार प्राप्त गर्ने भन्दा पनि राजनीतिक लाभ लिने हिसाबमा हेरिरहेका देखिन्छन् । राजनीतिक र सामाजिक परिवर्तनका दृष्टिले मधेसी दल चुनावी एजेण्डाको खालमा छन् । तर, रणनीतिक उद्देश्य प्राप्तिकै लागि नेताहरु चुनावी एजेण्डाभन्दा पनि गालीगलौजमा व्यस्त छन् । कतिपय उम्मेद्वारहरु जातीय मुद्दा उठाएर समीकरण निर्माणमा व्यस्त छन् । मधेस केन्द्रित दलका शीर्ष नेता नै चुनावी एजेण्डाभन्दा जातीय समीकरण निर्माणमा व्यस्त छन् । जनकपुरधामसहितको धनुषा क्षेत्र नम्बर–३ का उम्मेद्वार तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र राजपाका नेता राजेन्द्र महतोका समर्थकबीच समाजिक सञ्जालमा गालीगलौज चर्को छ । त्यति मात्रै होइन दुई नेताबीच भद्दा शैलीमा वाकयुद्ध नै हुने गरेको छ । निधिले राजेन्द्र महतोसँग आफ्नो तुलना गर्न नमिल्ने भन्दै भाषण गर्छन् ।

महतोलाई भगौडा भनेर आरोप लगाउँछन् । महतो पनि कम छैनन्, उनी निधिलाई हत्यारा र जातीवादीको आरोप सार्वजनिक रुपमै लगाउँछन् । प्राध्यापक डा.सुरेन्द्र लाभ मधेसी नेताहरु आफूहरुको अधिकार स्थापित गर्ने र एजेण्डाको राजनीति गर्ने भन्दा पनि एकले अर्कोलाई गाली गर्ने र जातीय समीकरणमै भुलिरहेको बताउँछन् । उनले मधेस आन्दोलनका एजेण्डा ओझेलमा पार्दै उम्मेद्वारहरु व्यक्तिगत मुद्दा र जातिगत मुद्दा उठाउन थालेको तर्क गर्छन् ।

जनकपुरधाममा विकास निर्माणको कुराभन्दा पनि जातीय समीकरणको कुरा हुने गरेको प्राध्यापक लाभको ठम्याई छ । जनकपुर उद्योग वाणिज्य संघका पूर्व धध्यक्ष एवम् इन्जिनियर प्रकाशचन्द्र साह मधेसमा दुई किसिमका नागरिक रहेको बताउँछन् ्। एउटा शहरिया अर्को गाउँघरका । शहरमा आन्दोलन भएकोले मधेसको मागबारे जानकार छन् । त्यसकारण संविधान संशोधन र अन्य मागहरुको कुरा गर्छन् तर गाउँका मान्छेहरुले आफ्नो निकट व्यक्ति र जातका कुरा गर्छन् ।’ पहिलेभन्दा अहिले चुनावी माहोल विग्रेको बताउँदै साहले भने–‘उम्मेद्वारहरु चुनावी घोषणापत्र र एजेण्डाको कुरा नै गर्दैनन् । सबै उम्मेद्वार पैसाको प्रलोभनतिर लागेका छन् । विकास निर्माणका कुरा अहिले ओझेलमा परेका छन् । जातीय संगठन बनाउने कुरा अगाडि आएको छ ।’

सप्तरीबाट चुनावमा उठेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र वाम गठबन्धनका उम्मेद्वार उमेश यादवबीच पनि एजेण्डाभन्दा जातीय बहसको प्रतिष्पर्धा बढी छ । उपेन्द्र र उमेशले राजनीतिक र विकासका एजेण्डाभन्दा जातीय समीकरणलाई  नै बलियो अस्त्र मानेका छन् । दुबै यादव भएकाले आफूलाई यादवको आधिकारिक उम्मेद्वार ठान्ने प्रयत्नमा उनीहरु छन् । किनकी यहाँ यादवको मत निर्णयक मानिन्छ । स्थानीय सञ्चारकर्मी सञ्जीवविक्रम साह मधेसमा एजेण्डाभन्दा व्यक्तिवाद् हावी भएको बताउँछन् । साह थप्छन्–‘मधेसी दलका उम्मेद्वारहरुले प्रतिवद्धतापत्र समेत जारी गर्न सकेका छैनन् ।’

प्रकाशित : 17 November, 2017

प्रतिक्रिया दिनुहोस्