नयाँ मतदाता बन्दै निर्णायक

सहयात्रा टिभी

उदयपुर । एकाध जिल्लामा महिलाको संख्या आसन्न निर्वाचनका लागि निर्णायक रहेको समाचार बाहिर आइरहेका बेला उदयपुरमा भने हालै थपिएका नयाँ मतदाता निर्णायक देखिएका छन् ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उदयपुरमा थपिएका १८ हजार ४५७ नयाँ मतदाता निर्णायक देखिएको राजनीतिक वृत्तमा चर्चा भइरहेको छ । स्थानीय तह चुनावमा सहभागी नभएका १८ हजार ४५७ बढी मतदाताले मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा पहिलोचोटी भोट हाल्दैछन् । नयाँ मतदाता मतपरिणामका लागि निर्णायक बन्दै गएको मेसो पाएपछि चुनावमा उम्मेद्वारी दिएका नेता तथा दलहरुले नयाँ मतदाताको मन जित्नका लागि सोही अनुसार आफ्ना कार्यक्रमहरु बनाइरहेका छन् । स्थानीय तहको चुनावपछि थपिएका मतदाताको संख्या हेर्दा क्षेत्र नं. १ अन्तर्गत त्रियुगा नगरपालिकामा पाँच हजार ९७७ मतदाता थपिएका छन् । चौदण्डीगढी नगरपालिकामा तीन हजार ८० र बेलका नगरपालिकामा तीन हजार १२६ नयाँ मतदाता भोट हाल्न योग्य भएका छन् । यसरी निर्वाचन क्षेत्र नं. १ मा तीन वटै नगरपालिका गरी कूल १२ हजार १८३ नयाँ मतदाता थपिएका छन् ।

त्यसैगरी कटारी नगरपालिकामा तीन हजार २९९ जना र उदयपुरगढी गाउँपालिकामा एक हजार ५७२, रौतामाई गाउँपालिकामा ८१४, ताप्ली गाउँपालिकामा २९५ र सुनकोशी गाउँपालिकामा २९४ जना नयाँ मतदाता थपिएका छन् । यसरी निर्वाचन क्षेत्र नं. २ मा एक नगरपालिका र चार गाउँपालिका गरी छ हजार २७४ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले जानकारी दिए । चुनावी मैदानमा उत्रिएका उम्मेद्वारको उपस्थिति र स्थानीय तह चुनावमा प्राप्त मतलाई आधार मान्दा दुवै क्षेत्रमा वाम गठबन्धन बलियो देखिएको छ ।

स्थानीय तहको नतिजालाई आधार मान्दा उदयपुर क्षेत्र नं १ मा माओवादी केन्द्रले प्राप्त गरेको मत नै वाम गठबन्धनको जीतको आधार हो । वाम गठबन्धनको पक्षमा ४० हजार ७२२ मत देखिन्छ । जुन नेपाली कांग्रेसले पाएको मतभन्दा १६ हजार २९१ मत बढी हो । तर जिल्लामा संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति नेपाल, राप्रपालगायतका दल पनि एक्ला–एक्लै चुनावी मैदानमा छन् । त्यसैगरी निर्वाचन क्षेत्र नं २ मा ७९ हजार ३२७ मतदाता प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने देखिएका छन् । यस क्षेत्रमा वाम गठबन्धनबाट माओवादीका सुरेशकुमार राई (हिमाल) र नेपाली कांग्रेसका तर्फबाट नारायण कार्कीबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रकाशित : 19 November, 2017

प्रतिक्रिया दिनुहोस्