झापा र चितवनबाट विप्लव माओवादीका जिल्ला इञ्चार्जसहित कार्यकर्ता पक्राऊ

सहयात्रा टिभी

काठमाण्डौं । झापा र चितवनबाट आज प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका जिल्ला इञ्चार्जसहित चार जनालाई पक्राउ गरेको छ ।

चितवनको नारायणगढबाट आज प्रहरीले विप्लव माओवादीका जिल्ला इञ्चार्ज लालबहादुर बिसीलाई पक्राउ गरेको छ । चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले बताए । चितवनमा शान्तिपूर्ण तवरले चुनावी अभियान सम्पन्न गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यक्रता पक्राउ गरेको जनाएको छ । यसअघि चितवन प्रहरीले टाँडी र भरतपुरबाट सोही पार्टीका दुई जनालाई नियन्त्रणमा लिएकोे थियो ।

यस्तै आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनै जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जनाकारी दिए । प्रहरी उपरीक्षक केसीका अनुसार कन्काई नगरपालिकाका जनसरकार प्रमुख देवी प्रसाईं, झापा जिल्ला सदस्य सौगात भनिने सन्तोष कटुवाल र लीलाबहादुर लावती रहेका छन् ।

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्