‘हौसलापुर’ मा निरासा मात्रै !

सहयात्रा टिभी

कैलाली । देशलाई आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनले तताएको छ । उम्मेद्वार, नेता–कार्यकर्ता मात्र होइन सर्वसाधरणलाई पनि चुनावले छोएको छ ।

तर कैलालीको मोहना नदीपारीको गाउँ हौसलपुरमा निर्वाचन नजिकिंदै गए पनि कुनै हौसला छैन । यहाँ न निर्वाचनको रौनक नै छ । आफूहरुलाई राज्यले हेला गरिरहेको बताउने हौसलापुरका बासिन्दा अहिलेसम्म आफ्नो गाउँमा कुनै नेता–कार्यकर्ता नआएको बताउँछन् । कैलाली गाउँपालिका–७ मा पर्ने गाउँबासी घरायसी काममै व्यस्त छन् । उनीहरुलाई चुनावको नभई गहुँ छर्ने चटारोले छपक्कै छोएको छ । स्थानीय रामु चौधरी भन्छन्–‘चुनाव हुने सुनेका चाँहि छौं । अहिलेसम्म भोट माग्न कोही आएको छैन ।’
मुलुकमा यतिका ठूला परिवर्तन भए पनि आफूहरुको गाउँ पहिलाकै जस्तो सुविधाविहीन रहेको हौसलपुरबासीले बताउँछन् । भारतीय सीमा नजिकको गाउँमा भारतकै शिक्षा, भेषभूषा, संस्कार र मुद्रा प्रचलनमा छन् । साइनो, सम्बन्ध सीमापारीको गाउँ बेलापरसुवासँग बढी छ । गाउँमा एउटा विद्यालय र मोहना नदीमा झोलुङ्गे पुल उनीहरुका मुख्य माग हुन् । हालसम्म कसैले सुनुवाइ नगरेकामा निरास छन्, गाउँले ।

विक्रम चौधरी भन्छन्–‘नेपालकै नागरिक भएर पनि नेपाली जस्तो महसुस हुन छाडेको छ । राज्यले नै हामीलाई पराया ठानेको छ । तत्कालीन रतनपुर गाविसले दुई वटा नल्का र एउटा काठको डुंगा दिएको छ । राज्यबाट गाउँलेले पाएको सेवा सुविधा अहिलेसम्म त्यति रहेको एकमुख भएर स्थानीय सुनाउँछन् । स्थानीय बासिन्दाकै सक्रियतामा मोहनामा जैविक तटबन्ध निर्माण भएको छ । वर्षायाममा गाविसले दिएको डुंगा र हिउँदमा आफैंले बनाएको काठेपुल नदी वारपार गर्ने साधन हुन् । उक्त गाउँमा २२ परिवारको बसोबास छ । करीब डेढ सय मतदाता छन् । स्थानीय तहको निर्वाचनमा मोहनापारीको रामपुरस्थित मतदान केन्द्र पुगेर भोट हालेका थिए । यसपालि विद्यालय, झोलुङ्गे पुल र सडकमा ग्राभेल बिछ्याउन पहल गर्ने नेतालाई मात्र मत दिने सोचमा छन् गाउँले ।

रामुले आफ्नो गाउँको रामकहानी सुनाए–‘हाम्रा माग नयाँ होइनन् । धेरै पटक उम्मेद्वारले माग पूरा गरिदिने आश्वासन दिए, पूरा कसैले गरेनन् ।’ सुगम जिल्लाको दुर्गम ठाउँ मानिन्छ, हौसलपुर । गत वर्ष पहिलो पटक कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल ट्रयाक्टर चढेर पुगेका थिए । भविष्यमा राज्यको उपस्थिति महसुस गराउने उनको बाचा अझै पूरा भएको छैन । जुगराम चौधरीका अनुसार आक्कल–झुक्कल प्रहरी भने पुग्न थालेका छन् । राज्यका आधारभूत सेवा, सुविधा पाउने विषय हौसलपुरवासीका लागि आकाशको फल नै बनेको छ ।

 

प्रकाशित : 20 November, 2017

प्रतिक्रिया दिनुहोस्