पहिचान र समृृद्धिको मुद्दा बोकेर चुनावी मैदानमा दुई राई
सहयात्रा टिभी
भोजपुर । झण्डै ३० वर्ष एउटै पार्टीको झण्डामुनि रहेर काम गरेका एमाले नेता राजेन्द्र राई र अजम्बर राई काम्वाङ्ग पाँच वर्षपछि एक–अर्काको विपक्षी बनेर आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आमने–सामन्ने भएका छन् । एमाले नेता अजम्बर राई काङमाङले २०६९ को असारतिर अशोक राईसँग पार्टी विद्रोह गरे लगत्तै भोजपुरका अर्का एमाले नेता राजेन्द्र राईले सामाजिक सञ्जालमा लेखेका थिए ‘वर्गीय मुक्तिको झण्डा बोक्न राजेन्द्र राई मैदानमा खडा छ ।’
परिस्थितिले अहिले फेरि एक पटक राजेन्द्र र अजम्बरलाई आमने सामने बनाई दिएको छ । वर्गीय र जातीय मुक्तिको नारा बोकेर राजनीतिमा सक्रिय यी दुई राई नेताको चुनावी प्रतिष्पर्धा भोजपुर–१ रोचक बन्ने देखिएको छ । वाम गठबन्धनबाट राजेन्द्र र कांग्रेस–संघीय गठबन्धनबाट अजम्बर अहिले दुवै जना भोट माग्दै घरदैलो गरिरहेका छन् । भोजपुर–१ का धेरै मतदाता दुवै राई नेताका शुभेच्छुक छन् । जसका कारण चुनावमा उठेकालाई विपक्षीलाई हराउनु अप्ठ्यारो छ नै त्यो भन्दा अप्ठ्यारो दुई नेतामध्ये एक छान्नु सर्वसाधरणलाई समस्या छ । नागरिकले यी दुई नेता नभिडेकै ठिक भनिरहेका बेला उनीहरु भने पार्टी निर्णय नै अन्तिम हुने बताइरहेका छन् ।
भोजपुर १ आजसम्म वामपन्थीले कहिल्यै नहारेको क्षेत्र हो । २०४८ देखिका हरेक चुनावमा एमालेले जित्दै आएको यस क्षेत्रमा २०६४ मा माओवादीले जितेको थियो । यो क्षेत्रबाट तीन पटक पराजित भएका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की यस पटक भोजपुर छाडेर सुनसरी झरिसकेका छन् । यस पटक कांग्रेसले यस क्षेत्रमा पूर्व एमाले नेता अजम्बर राईलाई समर्थन गरेर चुनावी माहोललाई रोचक बनाई दिएको छ । त्यसो त संघीय समाजवादी र कांग्रेसको चुनावी तालमेल यो पहिलो होइन । यसअघि स्थानीय तहको चुनावमा पनि कांग्रेस र संघीय समाजवादी यस क्षेत्रका टेम्के मैयुङ्ग र साल्पा सिलिछो गाउँपालिकामा मिलेर चुनाव लडेका थिए ।
दुवै उम्मेद्वार एउटै समुदायका भएकाले यहाँको चुनाव अझ रोचक बनेको छ । नत्र यसअघि यो क्षेत्रबाट घनेन्द्र बस्नेत बाहेक सधैं एमालेले जनजाति उम्मेद्वार उठाउने गरेको थियो । कांग्रेसले प्रायः क्षेत्री उम्मेद्वार उठाउँथ्यो । यस पटक दुवै एउटै पृष्ठभूमि र एउटै समुदायका अनि एकै पुस्ताका प्रभावशाली युवा नेताको भिडन्तले भोजपुर १ हट जोन बन्न पुगेको छ ।
चार हजार मत अगाडि रहेको वामपन्थी गठबन्धन राजेन्द्र राईको व्यक्तित्वका कारण पनि अझ फराकिलो मतान्तरले जित्नेमा ढुक्क देखिन्छ । प्रतिनिधिसभामा माओवादीका सुदन किराँती र प्रदेश २ मा मुख्यमन्त्रीका उम्मेद्वार एमाले नेता शेरधन राई उम्मेद्वार बनेका कारण पनि वामपन्थी मत अझ बढ्ने दावी एमाले नेताहरुको छ । अजम्बर राईले एकताका बाहुन क्षेत्रीय विरोधी अभिव्यक्ति दिएका कारण खस आर्यको मत राजेन्द्र राईले पाउने आंकलन उनीहरुको छ । राजेन्द्रलाई कुनै समय संघीय समाजवादीका कार्यकर्ताले ‘राई बाहुन’ भनेर व्यंंग्यसमेत गर्थे । उनी त्यसको फाइदा पनि लिने दाउमा देखिन्छन् ।


