चिया किसानलाई लागत खर्च उठाउनै धौधौ
पाँचथर । पूर्वका जिल्लामा व्यवसायिक सोंचका साथ चिया खेती भइरहे पनि आफूहरुले चिया खेतीबाट लागत मूल्य नै उठाउन नसकिरहेको किसानहरुले गुनासो गरेका छन् ।
एक नगरपालिका र साता गाउँपालिकामा चिया खेती हुँदै आएको पाँचथरमा एक हजार एकसय बढी चिया किसान छन् । तर उनीहरुले चिया खेतीमा गरेकोलगानी नै उठाउन धौधौ भइरहेको बताइरहेका छन् । १० हजार ३२३ रोपनी क्षेत्रफलमा लगाएको चिया खेतीमा परेको मेहनत र पसिनाको उचित मूल्य नतोकिँदा मर्कामा परेको कृषकले गुनासो गरेका छन् ।
कृषि विकास मन्त्रालय अन्तर्गतको उच्च मूल्य कृषि वस्तु विकास आयोजना (एचभिएपी)को वेभसाइडमा ग्रामीण जनताको जीविकोपार्जनमा प्रभाव पार्ने स्याउ, अदुवा, बेसार, खसीबोकाजस्ता सात वस्तुलाई मूल्य शृङ्खलामा छनौट गरिएको वस्तुको सूचीमा राखिएको छ । तर चियाको भने हालसम्म मूल्य शृङ्खला बनेको छैन । मूल्य शृङ्खला नबन्दा टि–स्टेटले आफूखुसी तोकेको मूल्यमा कृषक चियाको हरियो पत्ती बेच्न बाध्य छन् । उनीहरु थप चिया खेती विस्तारका लागि उत्साहित नदेखिएको केन्द्रीय चिया सहकारी संघ (सिटिसिएफ) का उपाध्यक्ष राजेन्द्रकुमार जवेगु बताउँछन् । जिल्लाका अधिकांश चिया कृषकको माग मूल्य शृङ्खला बन्नुपर्ने रहेको फाल्गुनन्द गाउँपालिका–३, पौवाका महेन्द्रकुमार चेम्जोङ बताउँछन् ।
मुलुकमै पहिलो अग्र्यानिक चिया प्रशोधन कारखानाको प्रमाणपत्र पाएको फिदिमको कञ्चनजंघा टि–स्टेट एण्ड रिसर्च सेन्टर प्रालिले वार्षिक ६० हजार हरियोपत्ती साना कृषकबाट लिंदै आएको छ । पहिलो ग्रेडको हरियोपत्तीको प्रतिकिलो ७५ र दोस्रो ग्रेडको हरियो पत्तीको प्रतिकिलो ५२ मूल्य दिँदै आएको प्रालिका प्रबन्धक निरानन्द आचार्यले जानकारी दिए । मिक्लाजुङ गाउँपालिका–२, सराङडाँडामा रहेको नर्थ नेपाल टि–स्टेटले चिनियाँ प्रविधिको सानो प्रशोधन कारखाना भित्र्याई ठूला कारखानाको भरमा रहेका कृषकलाई राहत दिएको छ । नर्थ नेपालको पहलमा २०६६ सालमा नेपालमा भित्र्याइएको सो प्रविधि हाल नर्थ नेपालसहित पाँचथरको सातथुम्के चिया उत्पादक सहकारी संस्था एकतीन, लेकाली अग्र्यानिक चिया उद्योग राँके र फक्ताङ्लुङ टि–स्टेट आङ्सराङमा सञ्चालित छन् ।
यसबाट हरियोपत्ती बेच्न ठूला कारखानाकै भर पर्नुपर्ने अवस्थाबाट कृषक मुक्त भएको नर्थ नेपालका सञ्चालक समिति सदस्य राजु शेर्माले बताए । नजिकै प्रशोधन कारखाना भएपछि कृषकमा थप उत्साह बढेको छ । अहिले नर्थ नेपालले जिल्लाको रवि, सराङ्डाँडा, ओलने र इलामको फुएँतप्पाका कृषकले उत्पादन गरेको हरियोपत्ती लिने गरेको छ ।