किवीमा पुरनको पौरख

सहयात्रा टिभी

इलाम । इलाम माइमझुवाका तेजबहादुर (पुरन) गुरुङ्गलाई ६ बर्षअघि आधुनिक तरिकाले किवी खेती गर्दा धेरैले कुरा काटे । कसैले बारीमा बाँसको घोचा ठड्याएर आम्दानी हुँदैन भने कसैले नौलो खेतीमा भर नपर्न सुझाव दिए ।

उतिबेला निःशब्द बनेका गुरुङ्ग अहिले आफूलाई किवी खेती नगर्न सल्लाह दिनेहरुलाई नै किवी खेतीका बारेमा सिकाइ रहेका छन् । कुरा काट्नेहरुको भनाइलाई मनमै लिएर किवी खेतीबाट केहि गर्ने अठोट कसेका पुरनको प्रगति अहिले उनलाई किवी खेती गर्न हतोत्साही बनाउनेहरुका लागि जवाफ बनेको छ । ७ बर्षअघि एक सय वटा बिरुवा रोपेर किवीको खेती शुरु गरेका गुरुङ्ग अहिले त्यही खेतीबाट मनग्य आम्दानी गर्ने किसानमा गनिन्छन् । शुरुमा किवीमा ७० हजार रुपैयाँ लगानी गरेका गुरुङ्गले त्यसको दुई बर्षपछि नै ५० हजार रुपैयाँ आम्दानी भएको सुनाए । किवीबाट कम समय र कम श्रममै बढी आम्दानी लिन सकिने उनी बताउँछन् ।

१९ बर्ष भारतीय सेनामा काम गरेर अवकाश पाएका गुरुङ्ग यतिबेला गाउँमै किवीको आधुनिक र व्यावसायिक खेती गरिरहेका छन् । कृषि स्वतन्त्र पेशा भएकाले आफूले अंगालेको उनी बताउँछन् । गुरुङ्गले गएकोे सिजनमा चार लाख रुपैयाँ आम्दानी भएको बताए । किवी खेतीमा रोप्ने र टिप्ने समयमा बढी जनशक्ति आवश्यक पर्ने भए पनि खेतीका लागि सहज रहेको उनको अनुभव छ । कुनै बेला अलैंचीबाट प्रशस्त आम्दानी लिएका उनी रोगले अलैंची मासिएपछि विकल्पमा कुन खेती गर्ने भन्ने लामो दोधार र छनौटपछि किवीमा लागेको सुनाउँछन् । शुरुमा सामान्य जानकारीकै भरमा खेती थाले पनि अहिले आफू किवी खेतीका बारेमा धेरै जानकार रहेको उनी बताउँछन् । गुरुङ्ग भन्छन्–‘शुरुमा सहयोग गर्ने भन्दा उडाउन खोज्ने धेरै भए । सुलुबुङका अगुवा किसान भोला खतिवडाको सहयोगमा खेती थालेको थिएँ । अहिले यसैले मलाई चिनाउँदैछ ।’

ठूलो हिम्मतले किवी खेती थालेको र ढिलो गरेको भए आफू किवी खेतीमा पछि पर्ने सुनाउँदै उनी भन्छन्–‘राम्रो नजानेको खेतीले नै अहिले मलाई जगायो ।’ किवी एकल रुपमा मात्रै नभई यसलाई बहुखेती (अरु खेतीसँगै हुने) रहेको गुरुङ्ग बताउँछन् । उनले किवीसँगै अकबरे र बेसार पनि लगाएका छन् । यसबाट उनको थप आम्दानी हुन्छ । किवीको फल मात्र होइन बिरुवाबाट पनि आम्दानी लिन सकिने गुरुङ्ग बताउँछन् । अर्को बर्ष दुई सय बिरुवा थप गर्ने उनको योजना छ । यता गुरुङ्गको आम्दानीबाट प्रभावित भएर आफूले पनि किवी खेती शुरु गरेको अर्का किसान जीतबहादुर राई सुनाउँछन् । ‘शुरुमा विश्वास नलागे पनि अहिले किवीले आर्थिक रुपमा कायापलट गराउन सक्नेमा आफू विश्वस्त रहेको राई बताए । गुरुङ्गका छिमेकी समेत रहेका राईले किवीका बिरुवा पनि गुरुङ्गकैबाट लिएको सुनाए । यतिबेला किवी खेतीको बजार र आम्दानी राम्रो रहेकाले यसबाट आपूm सन्तुष्ट रहेको राईले बताएका छन् ।

राई र गुरुङ्गले किवीबाट राम्रो आम्दानी गरेको देखेपछि छिमेकी सनतकुमार खतिवडाले पनि अलैंची बराबरकै आम्दानी दिने किवी खेती शुरु गरेका छन् । कृषि विकास कार्यालयका अनुसार अहिले इलामका ४३ गाविसमध्ये ३५ गाविसमा किवीको व्यावसायिक खेती भइरहेको छ । इलामका तीन नगरपालिका इलाम नगरपालिका, सूर्योदय र देउमाई नगरपालिकामा पनि किवी खेती भइरहेको छ । इलाममा गएको वर्ष दुई लाख किलो हाराहारीमा किवी उत्पादन भई चार करोडभन्दा बढी आम्दानी जिल्ला भित्रिएको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित : 21 November, 2017

प्रतिक्रिया दिनुहोस्