मौन अवधिको पूर्णपालना गर्न आयोगको आग्रह

सहयात्रा टिभी

काठमाण्डौं । पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मौन अवधिको पूर्णपलना गर्न निर्वाचन आयोगले सम्बन्धित सबै सरोकारवालालाई आग्रह गरेको छ ।

पहिलो चरणको निर्वाचन अन्तर्गत बिहीबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने बताउँदै निर्वाचनलाई मर्यादित बनाउन आचारसंहित पूर्णपालना गर्न आयोगले सरोकारवालालाई सचेत गराएको हो । मौन अवधि लागू भएसँगै मतदातालाई प्रभावित तुल्याउने वा दवाव दिने कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले स्मरण गराएका छन् ।

मतदान हुनुभन्दा ४८ घण्टाअघि मतदातालाई प्रभावित तुल्याउने कुनै पनि गतिविधि गर्न नपाउने गरी मौन अवधिको समय तोकिएको हुन्छ । मौन अवधिको पूर्णपालना गर्न पनि निर्वाचन आयोगले सम्पूर्ण उम्मेद्वार, राजनीतिक दल र सरकारको गम्भिर ध्यानाकर्षण पनि गराएको छ । आइतबार पहिलो चरणमा ३२ वटा जिल्लामा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले मौन अवधि शुरु भएपछि मतदातालाई प्रभावित तुल्याउने समाचार प्रशारण, प्रकाशन नगर्न पनि सञ्चारकर्मीहरुको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता ढकालले मौन अवधि शुरु भएपछि सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचार–प्रचारको काम गर्न नपाउने पनि स्पष्ट पारे ।

निर्वाचन आयोगले सुरक्षाको व्यवस्था सुदृढ भएको उल्लेख गर्दै ढुक्क भएर मतदानमा भाग लिन पनि आम मतदातालाई पुनः आह्वान गरेको छ । आयोगका प्रवक्ता ढकालले सुरक्षाको उचित व्यवस्था भएको उल्लेख गर्दै ढुक्क भएर मतदानमा भाग लिन आम मतदातालाई पनि आह्वान गरेका छन् । आगामी २१ गते दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

 

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्