डोल्पामा कांग्रेस–एमालेबीच झडप

सहयात्रा टिभी

डोल्पा । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसारका क्रममा दुई दलका कार्यकर्ताबीच विहीबार झडप भएको छ ।
डोल्पाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत कागकोटमा चुनाव प्रचारका क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा ठूलीभेरी नगरपालिका–८ का जीवन भण्डारी घाइते भएका छन् । होटेलमा सँगै खाना खाने क्रममा झडप भएको प्रहरीले जनाएको छ । सामान्य घाइते भण्डारीको जिल्ला अस्पतालमा उपचारका लागि पठाएको छ । कांग्रेस सभापति अंगत बुढाले उपल्लो डोल्पाका मतदान केन्द्रमा बस्ने एजेन्टहरुको पत्र लिएर गएका कार्यकर्तालाई एमाले कार्यकर्ताले कुटपिट गरी एजेन्टपत्र समेत च्याति दिएको बताए ।

घाइते भण्डारीसँगै गएका सूर्य टमाटा, राणाजी बुढा, हिराचन्द्र भण्डारीलाई रातभरी रुखमा बाँधेर हत्या गर्ने प्रयास गरिएको कांग्रेसले आरोप लगाएको छ । यता स्थानीय प्रशासनले सुरक्षा व्यवस्था चुस्त पारेको बताईरहँदा कांग्रेसले भने मतदाता र एजेन्टको सुरक्षाको ग्यारेन्टी नलिए उपल्लो डोल्पाबाट चुनावमा सहभागी नहुने बताएको छ ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्