‘हाम्रो भोट बसपार्क बनाउनेलाई’

सहयात्रा टिभी

ओखलढुङ्गा । ओखलढुङ्गा पूर्वको एक विकासमा फड्को मार्दै गरेको जिल्ला हो । ओलढुङ्गाले कृषि, पशुपालनदेखि पर्यटन क्षेत्रमा समेत पूर्वाधारहरु विकास गर्दै आइरहेको छ । तर, पहिलोपल्ट ओखलढुङ्गा पुग्ने जोकोहिलाई सदरमुकाममा देखिएको अस्तव्यस्त गाडीहरुको भिडले वाक्क बनाउने गरेको छ ।

ओखलढुङ्गाको बसपार्कको अव्यवस्थाले नयाँ आगन्तुकलाई मात्र अप्ठ्यारो बनाउँदैन, यहाँका स्थानीयलाई समेत आजित बनाएको छ । व्यवस्थित बसपार्क नहुँदा आउजाउमा मात्र स्थानीयले समस्या खेपेका छैनन्, जीविकोपार्जनमा समेत सकस भोगिरहेका छन् । बसपार्क व्यवस्थित गराउनका लागि स्थानीयले पहलकदमी नगरेका पनि होइनन् । तर, बसपार्कको हालत अहिलेसम्म ज्यूँकात्यूँ छ । तर, अहिले बसपार्क व्यवस्थित बनाउने मुद्दालाई स्थानीयले बलियोसँग उठाइरहेका छन् । ओखलढुङ्गाका बासिन्दा अहिले आसन्न चुनावमा जसले बसपार्क व्यवस्थित बनाउँछ, उसैलाई भोट दिने भन्दै ‘लविङ्ग’ नै गरिरहेका छन् । ओखलढुङ्गाको सदरमुकामा बस पार्किङ गर्ने ठाउँ नहुँदा सवारीसाधन सडकमै राख्नुपर्ने वाध्यता पुरानै हो ।

पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोट माग्न जाने नेतालाई ओखलढुङ्गाका मतदाताले एउटा व्यवस्थित बसपार्क बनाउने शर्तमा मात्र मत हाल्ने बताइरहेका छन् । सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका मञ्जु बाँनियाले भनिन्–‘जुन उम्मेद्वारले बसपार्क बनाउने योजना ल्याउँछ र जिल्लाको विकास गर्छु भन्छ त्यसैलाई भोट दिने हो ।’ उनी बसपार्ककै छेउमा चिया पसल गर्छिन् । व्यवस्थित बसपार्क नहुँदा उनको चिया पसमा आउन जान ग्राहकलाई अप्ठ्यारो छ ।

भोट माग्न पुगेका प्रतिनिधिसभाका उम्मेद्वार यज्ञराज सुनुवारसँग बाँनियाले गुनासो गरिन्–गरी खान पनि नपाउने, चिया पसलकै अगाडि बस आएर रोकिन्छ, ग्राहकलाई आउन जानै गाह«ो छ ।’ जिल्ला सदरमुकामा अहिलेसम्म बसपार्क छैन । बसपार्क नहुँदा सवारीसाधन बाटो–बाटोमा राख्नाले अरु सवारीसाधनलाई पार हुन र सर्वसाधारण आवत–जावत गर्न कठिनाइ हुन्छ । बाँनिया मात्र हैन, सोही नगरपालिकाका–१२ का गोपाल बज्राचार्यको भनाइ पनि उस्तै छ । ‘मतदाताको मर्मलाई बुझेर जिल्लामा बसपार्क बनाउने, गाउँ–गाउँसम्म सडक विस्तार गर्ने नेतालाई भोट हाल्छु’– उनले भने । पेशा व्यवसाय गर्ने र यात्रुलाई मात्र हैन ठूलाठूला कार्यक्रमको आयोजना गर्दा पनि ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ हुने गरेको छ । ओखलढुङ्गाका ट्राफिक प्रहरी प्रमुख भेषराज कट्टेलका अनुसार कुनै ठूला कार्यक्रमको बेलामा ट्राफिक व्यवस्थापनमा निकै कठिन हुन्छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका अवसरमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको यही मंसिर २ गते आयोजना भएको बृहत् चुनावीसभामा पनि ट्राफिक व्यवस्थापन गर्न निकै समस्या भएको थियो । दुवै दलले आआफ्नो चुनावीसभाको कार्यक्रमस्थल नजिकै सडकमा लाइन लगाएर सवारी साधन पार्किङ गरेका थिए । वाम गठबन्धनको चुनावी प्रतिबद्धतापत्रमा सिद्धिचरण नगरपालिकाभित्र दुई वर्षमा व्यवस्थित बसपार्क निर्माण गर्ने उल्लेख छ । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेद्वार रामहरि खतिवडाले पनि बसपार्क बनाउने आफ्नो पनि कार्ययोजना भएको बताए । सदरमुकाम ओखलढुङ्गास्थित रमाइलो डाँडामा बसपार्क बनाउने भनेर काम समेत अघि बढिसकेको भए पनि नेपाली सेनाको जग्गा भएको हुँदा बसपार्क बन्न सकेन । अब उपयुक्त जग्गा खोजेर एउटा व्यवस्थित बसपार्क बनाउनु जरुरी छ । ओखलढुङ्गामा एक लाख दुई हजार २६३ मतदाता छन् ।

प्रकाशित : 23 November, 2017

प्रतिक्रिया दिनुहोस्