राति १२ बजेअघि नै गन्तव्यमा पुग्न चालकहरुलाई आग्रह
 सहयात्रा टिभी
            सहयात्रा टिभी
		काठमाण्डौं । सरकारले आज (शनिबार) राति १२ बजे भन्दा अगाडि नै आ–आफ्नो गन्तव्यमा पुगिसक्न चालकहरुलाई आग्रह गरेको छ ।
आइतबार निर्वाचन हुने ३२ जिल्लामा सवारी चलाउन नदिने सरकारी निर्णयले कसैलाई मतदान प्रक्रियामा सहभागी हुन अप्ठ्यारो नहोस् भनेर सरकारले शनिबार राति १२ बजे अगाडि नै सबै चालकहरुलाई गन्तव्यमा पुगिसक्न आग्रह गरेको हो ।
आइतबार मतदान हुने जिल्लामा सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि सवारी पास लिएका र एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङ्कर, दूरसञ्चार सेवा, शव वहान, अस्पताल सेवा र विद्युत सेवालगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ । यसका लागि चुनाव हुने जिल्ला हुँदै चल्ने गाडी पनि चलाउन नदिने भएकाले शनिबार राति १२ बजेअघि नै गन्तव्यमा पुग्न मन्त्रालयले सार्वजनिक सबैलाई अपील गरेको छ ।
आइतबार प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर–३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर–४ मा मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर–५ का रुकुम पूर्वी भाग र रोल्पा तथा प्रदेश नम्बर–७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी गरी ३२ जिल्लामा प्रतिनिधि तथा प्रदेशसभाको मतदान हुँदैछ ।


