पहिला नौला मान्छेको निगरानी गर्नेहरु, अहिले उनीहरुकै बाटो कुरेर बस्छन्
इलाम । पहिले–पहिले भारतीय पर्यटक आउँदा इलामो जिर्मलेस्थित सलकपुरका किसान सुन्तला चोरिने डरले डन्ठा लिएर बारीमै गोठालो बस्थे । तर, पाँच–छ वर्षयता उनीहरुको ब्यवहार फेरिएको छ । हातमा डन्ठा लिएर बारी रुङ्गने किसान अहिले बाटोमा सुन्तला राखेर आँखा टटाउञ्जेल उनीहरुकै बाटो हेरेर बस्छन् ।
सुन्तलाको बगानै बेच्नु भन्दा पर्यटकलाई सुन्तला बेच्दा बढी कमाइ गर्न सकिने भएपछि सलकपुरबासीको ब्यवहार परिवर्तन भएको हो । ‘शुरु–शुरुमा सुन्तला चोर्छन् भन्दै बारीमा लाठ्ठी बोकेर बस्ने हामी नै हौं’–स्थानीय कुमार मोक्तानले सुनाए–‘अहिले कतिबेला उनीहरु आउँलान् भनेर बाटो हेरेर बस्छौ ।’
दिनैपिच्छे सुन्तला लगेर बजारमा बेच्ने स्थानीय ब्यापारी मानबीर स्याङबो पनि हिजोआज बजार धाउँन छाडेका छन् । त्यसको सट्टा उनी गाउँभरको सुन्तला बटुलेर बाटोमा फिंजाएर बस्छन् । ‘पहिले बगानै बेच्ने चलन थियो’–स्थानीय सुन्तला ब्यापारी स्याङबोले भने–‘अहिले धेरैले बगान बेच्न छाडिसके ।’ बजारमा लगेर बेच्नु भन्दा पर्यटकलाई बेच्दा फाइदा हुने गरेको स्याङबो बताउँछन । ‘यहींबाट ३०÷४० रुपैयाँमा प्रतिकिलोमा बिक्छ’–स्याङबोले थपे–‘बजारमा लगेर होलसेल बेच्दा पनि त्यस्तै हो, यहीं बेच्दा बरु खर्च पो जोगिन्छ ।’
स्याङबोले मात्रै एकै दिनमा ५० हजार रुपैयाँसम्मको सुन्तला पर्यटकलाई बेच्ने गरेको बताए । स्याङबो जस्तै सुन्तला बेच्न बसेका किसानदेखि ब्यापारीसम्मको सुलकपुरमा यो सिजनमा लर्को लाग्ने गरेको छ । अघिल्लो वर्षसम्म बगानबाटै सुन्तला बेच्दै आएका याम अधिकारीले यो पटक भने बगान बेचेनन् । पर्यटकलाई बेच्नका लागि आफूले बगान विक्री नगरेको उनले बताए । गत वर्ष एक लाख ५० हजार रुपैयाँमा सुन्तला बगान बिक्री गरेका अधिकारीले भने–‘पर्यटकलाई खुद्रा बेच्दा नै नाफा हुँदोरहेछ, त्यसैले बगान बेचिनँ ।’
सलकपुरमा सुन्तला खान र घुम्नका लागि भारतको दार्जिलिङ जिल्ला अन्तर्गत पर्ने लालपुरका जयनारायण सिंहले यहाँ लगातार आएको चार वर्ष भएको बताए । भ्याउँदा एकै सिजनमा दुई पटकसम्म सलकपुर आउने गरेको उनी सुनाउँछन् । ‘यहाँ बोटकै सुन्तला खान पाइन्छ’–उनले थपे–‘घुम्न पनि रमाइलो लाग्छ ।’ लगातार सलकपुर आउने गरेका सिंहलाई नेपाली भाषा समेत सलकुमारले सिकाएको छ ।
सलकपुरमा जयनारायणसँगै भेटिएका राजु सिहसँगको कुराकानीमा दोभाषेको काम गरिरहेका थिए जयनारायण । जयनारायण सिंहकै साथ लागेर सलकपुर आएका राजु सिंहले पहिलो पटक यहाँ आएको बताए । सिलिगुडीका राकेश कुमारले पनि सुन्तला खान र बगान हेर्नकै लागि पैदल हिंडेर सलकपुर आएको बताए । सलकपुर आएका भारतीय पर्यटक सुन्तला खाएर भन्दा पनि लटरम्मै फलेको पहेंलपुर सुन्तलाका बोट हेरेर रमाउने गरेको स्थानीय बताउँछन् ।
मन्जा चिया कमानका विकास घिमिरेले सुन्तला खान भन्दा पनि हेर्नै रमाइलो हुने गरेको सुनाए । ‘सुन्तला खान त बजारमा पनि पाइन्छ’–उनले भने–‘लोभलाग्दो सुन्तला हेर्नको लागि यहीं नआई हुँदैन ।’ सलकपुरमा हरेक आइतबार भारतीय पर्यटकको भीड नै लाग्ने गरेको छ । सलकपुरमा भारतको गलगलिया, नक्साल, खोरीबारी, पानीट्याङ्की, सिलिगुडी, बाघडुग्रा, पानीघट्टा, लुवागडलगायतका ठाउँहरुबाट भारतीय पर्यटक आउने गरेका छन् ।
सुन्तलाले पहेंलपुर हुने गरेकै कारण ‘गोल्डेन भ्याली’ नामले चिनिएको सलकपुर भारतीय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । जिर्मलेको सलकपुरमा करेसाबारीदेखि पाखा भित्तासम्म पहेंलपुर सुन्लताका बोट देख्न पाइन्छ । सुन्तला किन्नका लागि कात्तिक दोस्रो सातादेखि मंसिर महिनाभर भारतीय पर्यटक आउने गरेका छन् । सुन्तलाको सिजनमा एउटै आइतबार पाँच हजारदेखि सात हजारसम्म पर्यटक आउने गरेको स्थानीय रोमश अधिकारीले जानकारी दिए ।
सुन्तलाबाट मात्रै होइन यहाँ आउने पर्यटकलाई खाजा नास्ता र पेय पदार्थ विक्री गरेर स्थानीयले राम्रो कमाइ गर्ने गरेका छन् । सेल, खाना, थुक्पा, मः मः विक्री गरेर आम्दानी लिन स्थानीय बानी परिसकेका छन् । भारतीय नागरिक आउन थालेपछि मेचीखोलादेखि त्यहाँको मोतिराम माविसम्म मौसमी दोकानको लाइन लाग्ने गरेको छ । बजारमा निर्यात गरेर र पर्यटकलाई विक्री गरेर सलकपुरबासीले एकै सिजनमा दुई करोड रुपैयाँ नगद गाउँमा भित्र्याउने गरेका छन् ।