मुगाबेलाई जीवनभर मासिक डेढ लाख डलर

सहयात्रा टिभी

जिम्बाबे । गत साता राजीनामा दिएका जिम्वाबेका राष्ट्रपति रोर्बट मुगाबेलाई सरकारले बाँचुञ्जेल मासिक डेढ लाख डलर तलब दिने भएको छ । यो उनले राष्ट्रपति हुँदा पाइरहेको तलब बराबर हो ।

मुगाबेले राजीनामा दिनुअघि भएको सहमतिमा सरकारले उनलाई एकमुष्ट रूपमा पनि रकम उपलब्ध गराउने जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मुगाबेले ‘गोल्डेन ह्याण्डसेक’ का रूपमा १ करोड डलरभन्दा बढी रकम पाउने भएका हुन् । तर उनले पाउने आधिकारिक रकम भने जिम्वाबे सरकारले खुलाएको छैन ।

उनको मृत्युपछि पत्नी ग्रेस मुगाबेले आधा तलब पाउने छिन् । ३७ वर्ष शासन गरेका मुगाबेलाई सरकारले कुनै विषय मुद्दा नचलाउने शर्तमा उनले राजीनामा दिएको बताइएको छ । सैनिकद्वारा नजरबन्दमा परेर संसदमा महाअभियोगको तयारी भएपछि ९३ वर्षीया मुगाबेले गत हप्ता पदबाट राजीनामा दिएका थिए । सन् १९८० मा जिम्वाबेको सत्तामा आएका मुगाबेले पत्नीलाई उत्तराधिकारी बनाउन खोज्दा व्यापक विरोध भएको थियो ।

प्रकाशित : 26 November, 2017

प्रतिक्रिया दिनुहोस्