जाजरकोटमा चार घण्टामा २० मतदान, झडप दोहोरिने डरले मतदानका लागि सर्वसाधरण आएनन्
जाजरकोट । प्रतिनिधि तथा प्रदेससभाको जारी मतदानमा जाजरकोटको एक मतदान केन्द्रमा चार घण्टामा २० वटा मात्र मत खसेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीको धम्कीका कारण स्थानीय मतदान केन्द्र नगएको स्थानीयले बताएका छन् ।
कुशे गाउँपालिका–८, अवलरिजा मतदान केन्द्र नजिकै गए राति दोहोरो झडप भएको रझडप फेरि दोहोरिन सक्ने त्रासका कारण स्थानीय मतदान केन्द्रसम्म जान डराएको जनाइएको छ । शनिबार राति सो केन्द्र नजिक झडप हुँदा दर्जन व्यक्ति घाइते भएका छन् । बामगठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो । तीन दिनअघि मतदान बहिष्कार गर्ने भन्दै विप्लवका कार्यकताले सोही मतदान केन्द्र भएको वडा अध्यक्ष गोपालबहादुर नेपालीलाई अपहरण गरेका थिए । अध्यक्ष नेपाली अपहरणमुक्त हुन सकेका छैनन् ।
झडपमा रमेश रोकाय, प्रेम रोकाय, खिम भण्डारी, मदन भणडारीलगायत दर्जन घाइते भएका छन् । घाइतेमध्ये बाम गठबन्धनका प्रेमको अवस्था गम्भीर रहेको छ । झडपमा परी रमेशको हात र खिमको खुट भाँचिएको छ । झडपमा परेका मदनलगायत ४–५ जना वेपत्ता रहेको वडा अध्यक्ष अमर रोका मगरले बताएका छन् । घाइतेको उद्धार हुन सकेको छैन ।
झडपका कारण सरस्वती माध्यमिक विद्यालय अवलरिजा मतदान केन्द्रमा भोट हाल्न आउन मतदाता डराएको अध्यक्ष मगरले बताए । घाइतेको अवस्था गम्भीर रहेको उनले जानकारी दिएका छन् । समयमा उद्धार नभए घाइतेको ज्यान जाने खतरा बढेको उनी बताउँछन् । घटनास्थलमा सुरक्षाकर्मी नपुगेको उनले बताएका छन् । १० घण्टाअघि खबर गर्दा पनि सुरक्षाकर्मी नआएको उनले आरोप लगाए । घटनास्थललाई समयमा नियन्त्रणमा नलिए थप झडप हुने र त्रासका कारण मतदाता भोट हाल्न पनि नआएने उनको भनाई छ ।