नाकाबन्दीले छोएन कतारलाई, आर्थिक बृद्धिदर उस्तै

सहयात्रा टिभी

दोहा । छिमेकी देशहरुले एकै पटक नाकान्दी लगाउँदा धेरैले कतारलाई संकट पर्ने सोंचेका थिए । आर्थिक रुपमा कतारलाई कञ्ज्याउने ध्येयका साथ छिमेकी देशहरुले नाकाबन्दी लगाए पनि कतारको अवस्था हिजो जस्तो थियो त्यो भन्दा तल झर्न परेको छैन । अहिले पनि कतार माथिको नाकाबन्दी कायमै छ । तर, पनि कतारको आर्थिक वृद्धिदरमा भने कुनै असर देखिएको छैन । कतारको दोहास्थित केन्द्रीय बैंकका गर्भनरले कतारको आर्थिक वृद्धि तीब्र गतिमै रहेको बताएका छन् ।

गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद (जिसीसी) मा पर्ने देशमध्ये पनि कतारमा सबैभन्दा धेरै आर्थिक बृद्धि भइरहेको जानकारी दिएका छन् । उनलाई उद्धृत गर्दै कतार समाचार संस्थाले कतारका छिमेकी देशहरुले नाकाबन्दी गरिरहेका बेलामा पनि तीब्र आर्थिक बृद्धि भइरहेको समाचार संप्रेषण गरेको छ ।

समाचारमा जनाइए अनुसार कतारले नाकाबन्दीपछि पनि आर्थिक अवस्था खस्कन नदिन सतर्कता अपनाएकाले बृद्धिदर तीब्र भएको हो । कतारले सन् २०१७ मा २.५ प्रतिशत कूल गार्हस्थ उत्पादन हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले जनाएको छ । गभर्नर अल थानीले आगामी बर्ष आर्थिक बृद्धिदर अझ बढ्ने बताए । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक बृद्धिदर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उनले जानकारी दिए ।

साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ) ले गत जुन ५ देखि कतारमाथि कूटनीतिक समस्या सिर्जना गर्दै नाकाबन्दी गरेका छन् । कतारले आतंकवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउँदै लगेकोलगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन् । तर उनीहरुको आरोपलाई कतारले भने पूरै अस्वीकार गरेको छ । एजेन्सी

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्