इलामका उम्मेद्वार जनताको घर–घरमा

सहयात्रा टिभी

इलाम । संविधानसभाबाट जारी नेपालको संविधानमा भएका प्रावधान कार्यान्वयन गर्ने शिलशिलामा हुन गइरहेको यस पटकको निर्वाचन गतिविधि गाउँमुखी देखिएको छ ।

पछिल्लो राजनीतिक ध्रुवीकरणसँगै दलका उम्मेद्वारहरुले आफ्ना क्रियाकलापलाई गाउँगाउँमा पु¥याइएका छन् । उनीहरुले जनता समक्ष आ–आफ्ना प्रतिबद्धता व्यक्त गरिरहेका छन् । दोस्रो चरणअन्तर्गत यही मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने होडमा अन्य जिल्लामा जस्तै इलाममा पनि वाम र लोकतान्त्रिक गठबन्धनबीच तीव्र प्रतिष्पर्धा देखिएको छ ।
वाम गठबन्धनको साझा उम्मेद्वारका रुपमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभाका लागि उम्मेद्वार छन् । क्षेत्र नम्बर–२ बाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । त्यसैले गर्दा इलाम अहिले राष्ट्रिय चर्चामा छ । चुनावी प्रचार–प्रसारका क्रममा उनीहरु दुवै जना आफ्ना क्षेत्रका ग्रामीण इलाकामा छन् ।

खनाल सन्दकपुर गाउँपालिकाका वडामा मत माग्दै घरदैलो अभियानमा छन् । उनका प्रमुख प्रतिष्पर्धीका रुपमा देखिएका लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका भूपेन्द्र कट्टेल पनि घरदैलो कार्यक्रममा व्यस्त छन् । उनले श्रीअन्तु, समाल्बुङलगायतका विभिन्न स्थानमा पुगेर जनता समक्ष मत मागिरहेका छन् ।
यसैगरी पूर्व सभामुख नेम्वाङ आफ्नो क्षेत्रका सबै गाउँपालिकाको घरदैलो पूरा गर्ने क्रममा छन् । उनीविरुद्ध नेपाली कांग्रेसका केशव थापा निर्वाचनमा उत्रिएका छन् । उनले पुवामझुवा, चमैतालगायतका भेगमा घरदैलो सकेका छन् भने अहिले साँखेजुङ र शान्तिडाँडामा घरदैलो कार्यक्रम गरिरहेका छन् ।

अन्य दलका उम्मेद्वारले पनि घरदैलोलाई गाउँ केन्द्रित बनाएका छन् । ग्रामीण क्षेत्रको घरदैलो सकेर इलामका शहरमा केन्द्रित हुने सम्बन्धित जिल्ला पार्टीले कार्यक्रम तय गरेको छ । घरदैलोका क्रममा इलामको विकास र समृद्धिलाई उम्मेद्वारहरुले जोडतोडले उठाएका छन् । नगदेबालीको मूल्य निर्धारण र किसानको जीवनस्तर सुधार गर्ने जस्ता विषयलाई उनीहरुले सबैभन्दा बढी चर्चामा ल्याएका छन् ।

निरन्तर पेचिलो बन्दै आएको इलामका चियाको मूल्य निर्धारणलाई न्यायोचित बनाउने, अलैंची किसानका समस्यालाई पनि सम्बोधन गर्नुपर्ने चुनौती जस्ता मुद्दा समाधान गर्ने यहाँका राजनीतिक दलले प्रतिबद्धता व्यक्त गरेका छन् ।
इलाम नगरपालिका–२ का ४६ वर्षीय राजेश खनाल यहाँ खानेपानी समस्या मुख्य भएको बताउँछन् । उनका अनुसार विगत १० वर्षदेखि यो मुद्दा ज्यूँकात्यूँ छ । नेताहरु शहर आएपछि पुनः उक्त मुद्दालाई सम्बोधन गर्न बाचा गरिरहेको खनालको बुझाइ छ ।

त्यस्तै इलाम सुन्तलाबारीका रोहितकुमार नेपाली भन्छन्–‘आजसम्म सोचेअनुसारको परिवर्तन हुन सकेन, विकास निर्माणले गति लिएन, त्यसैले अझै मतदान कसलाई गर्ने भन्ने यकिन छैन ।’ विगतका निर्वाचनमा गाउँ नपुगेका दल तथा त्यसका नेता कार्यकर्ताले यसपालिको निर्वाचनमा आफ्ना उम्मेद्वारलाई घर–घरमा पु¥याएका छन् । उनीहरु पनि विगतको तुलनामा गाउँ केन्द्रित भएर मतदाता रिझाउन तल्लिन देखिएका छन् ।

प्रकाशित : 27 November, 2017

प्रतिक्रिया दिनुहोस्