कलाकारहरुलाई पनि चुनावी चटारो

सहयात्रा टिभी

काठमाण्डौं । कलाकारहरु देशको साझा सम्पति हुन नसकिरहेका बेला केहि कलाकारहरुले यसै भनाइलाई मलजल पुग्ने गरी सक्रिय रुपमा राजनीतिक कार्यक्रमहरुमा सहभागी भइरहेका छन् । खुलमखुल्ला राजनीतिमा लागेका कलाकारहरु मात्र होइन आफू कुनै दलका कार्यकर्ता नभएको दावी गर्ने कलाकारहरु समेत दलका कार्यक्रमहरुमा भने स्टेज तताउन पुगिरहेको देखिन्छ ।

दलका नेता तथा कार्यकर्तालाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले व्यस्त बनाए जस्तै कलाकारलाई पनि चुनावी अभियानमा खट्न अहिले असारको १५ भइरहेको छ । मुलुकका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी माहौल बनाउन कलाकार लागेपछि मतदाताले राजनीतिक भाषण र आश्वासनसहित गीत संगीतको समेत मज्जा लिन पाएका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनमा आबद्ध उम्मेद्वारलाई मत माग्दै कलाकार नै निर्वाचन अभियानमा केन्द्रित भएपछि राजनीतिक सरगर्मी समेत बढेको छ । लोक दोहोरी गायक बद्री पंगेनी हालसम्म १०० भन्दा बढी चुनावी अभियानमा सहभागी भइसकेका छन् । गायक तथा संगीतकार चेतन सापकोटाको व्यवस्तता पनि पंगेनीको भन्दा कम छैन ।

हाँस्य कलाकार मनोज गजुरेललाई पनि आजकल फूर्सद नै छैन । देशव्यापी रुपमा चुनावी अभियानमा संलग्न छन् उनी पनि । यस्तै गायक नवीन खड्का र गायिका टीका पुन पनि चुनावी अभियानमा छन् । गायक झंकार बुढामगर पनि निरन्तर चुनावी अभियानमा छन् । अझै २० भन्दा बढी चुनावी अभियानको निम्तो आएको उनको भनाइ छ । लोकदोहोरी गायिका राधिका हमाल गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार थिइन् । उनको व्यस्तता पनि भनिसाध्य छैन ।

लोकगायक विमलराज क्षेत्री लोकतान्त्रिक गठबन्धनलाई मत माग्दै चुनावी अभियानमै छन् । लोकगायक विष्णु क्षेत्री पहिलो चरणको निर्वाचनमा बाग्लुङमा मतदान सकेपछि दोस्रो चरणमा निर्वाचन हुने जिल्लामा व्यस्त छन् । संविधान कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको निर्वाचनमा हामी कलाकार हाँं भनेर बस्ने अवस्था भएन, त्यही भएर वाम गठबन्धनका लागि मतदान गर्न आग्रह गर्दै चुनावी अभियानमा लागेको बताउने लोकगायक पंगेनी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेद्वार रहेको चितवन क्षेत्र नं ३ मा मत माग्न व्यस्त छन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी दुई दर्जनभन्दा बढी चुनावीसभामा गीत गाएका पंगेनीले एमाले महासचिव ईश्वर पोखरेल, स्वतन्त्र उम्मेद्वारी दिएका हृदयेश त्रिपाठीदेखि माओवादी केन्द्रका उम्मेद्वार कृष्णबहादुर महराको निर्वाचन क्षेत्रमा समेत आफ्नो प्रस्तुति दिएका छन् । पंगेनी भन्छन्–‘राजनीतिक स्थिरता मुलुकका लागि आवश्यक छ, हामी कलाकारलाई पनि त्यसले फाइदा गर्छ भन्ने लक्ष्यका साथ म चुनावी अभियानमा छु ।’

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्