उदयपुरमा बम विष्फोट, उम्मेद्वार नै घाइते

सहयात्रा टिभी

उदयपुर । उदयपुरमा बम विष्फोट हुँदा एक उम्मेद्वारसहित चार जना घाइते भएका छन् । उदयपुरगढी नगरपालिका–६ मा बुधबार विहान बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेद्वार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । कार्की निवर्तमान सांसद हुन् । २०७० को चुनावमा विजयी भएपछि उनी सांसद बनेका थिए ।

प्रमुख जिल्ला अधिकारी उदयमान श्रेष्ठका अनुसार बम विष्फोटमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् । घाइते सबै कांग्रेस कार्यकर्ता भएको जनाइएको छ । बम विष्फोट लगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको र उद्धार गरी घाइते भएका उम्मेद्वार कार्कीलाई हेलिकोप्टरबाट सिधै काठमाण्डौं पठाइएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले जानकारी दिए ।

चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार ग¥यो भन्नेबारे केही पनि खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । पहिलो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अवरोधका लागि सडक, मतदानस्थललगायतमा बम राखेर आतंक सिर्जना गरिएको भए पनि दोस्रो चरणको चुनावमा उम्मेद्वारलक्षित आक्रमणका घटना बढ्न थालेका छन् ।

प्रकाशित : 29 November, 2017

प्रतिक्रिया दिनुहोस्