जसले विकास गर्छ, उसैलाई भोट

सहयात्रा टिभी

वीरगञ्ज । चुनाव नजिकिएसँगै उम्मेद्वारहरुलाई विपक्षीको मत आफूतिर कसरी तान्ने भन्ने चिन्ता छ । वीरगञ्जमा चुनावी प्रचारमा खटिरहेका नेता–कार्यकर्तालाई पनि आफ्नो उम्मेद्वारलाई कसरी जिताउने भन्ने चिन्ता नै छ । तर नेपालगञ्जका धेरै सर्वसाधरणलाई भने चुनावको भन्दा धान कहिले थन्क्याई सक्ने भन्ने चिन्ता बढी छ ।

चुनावका विषयमा कुरा गर्ने जोकोहीलाई यहाँका किसानको एउटै उत्तर छ–‘गाउँको विकास गर्नेलाई भोट दिन्छौं ।’ यहाँका किसानलाई अहिले नेताहरुको नपुग्ने कुरा सुन्नु भन्दा धान काट्ने, पराल बोक्ने र धान भित्र्याउनेकै व्यस्तता छ । यहाँका दल र उम्मेद्वारहरु चुनावी सभा, पार्टी प्रवेश कार्यक्रमहरुमा व्यस्त छन् । समय छोटो छ । उनीहरुलाई मतदाताको घरदैलोमा पुग्नै हतारो छ ।ग्रामीण क्षेत्रका चोकहरुमा दलका झण्डाहरुले सजिएका छन् । गाउँघरमा मानिसहरुको चहलपहल पनि बढेको छ । तर, किसानहरुको चहलपहल खेतमै छ ।

केही किसानहरुले भने धान भित्र्याउने कामसँगै समय निकालेर चुनाव प्रचारलाई समेत नियालिरहेका छन् । भोट माग्न आएका नेताहरुलाई उनीहरुको माग पनि कृषिसँग सम्बन्धित नै हुन्छन् । पर्सा क्षेत्र नं ३ अन्तर्गत पर्ने सखुवाप्रसौनी गाउँपालिका–१ का ५४ वर्षीय हरिनारायण चौधरी कृषि कर्मसँगै चुनावी अभियानमा पनि सक्रियता भइरहेको बताउँछन् । ‘वर्षभरी खानुपर्ने अन्नबाली पनि भित्र्याउनै प¥यो । चुनाव आउँदैछ, नेताहरुको कुरा पनि सुन्नैप¥यो ।’

उनले किसानका लागि बीऊ, मलखाद्य र औषधि सहज उपलब्ध हुनुपर्ने माग उम्मेद्वारहरुसँग गरेको बताए । ‘अहिले गहुँ छर्ने बेला हुन लागेको छ, बीउ, मल सजिलै पाइयोस् भन्ने हाम्रो माग हो ।’ पर्सा क्षेत्र नं ३ को प्रतिनिधिसभामा कांग्रेसका उम्मेद्वार निवर्तमान सांसद सुरेन्द्र चौधरी, वाम गठबन्धनका उम्मेद्वार एमालेका निवर्तमान सांसद राजकुमार गुप्ता, फोरम राजपा गठबन्धनका हरिनारायण रौनियार र नेपाल संघीय समाजवादी पार्टीका राजकुमार यादवबीच प्रतिष्पर्धा हुने आंकलन गरिएको छ ।

सखुवा प्रसौनी गाउँपालिकाकै ५६ वर्षीय रामजनम पटवारीले विकास प्रेमी नेतालाई चुन्ने बताए । ‘उम्मेद्वारहरु घरदैलोमा आइरहेका छन्, विकास गर्छु भनेर आश्वासन दिएका छन्, सडक बनाउँछु, स्वास्थ्य संस्थाको स्तरोन्नती गर्छु, राम्रो डाक्टरको व्यवस्था मिलाउँछ, शिक्षाका लागि प्रावि छ भने मावि, मावि छ भने उच्च मावि बनाउँछु भनेका छन् ।’ उनले भने थपे–‘पहिले पनि धेरैले गाउँको विकास गर्छु भन्दै आश देखाए । अब चाँहि साँच्चै विकास गर्नसक्ने नेतालाई भोट दिनु पर्ला ।’

प्रकाशित : 30 November, 2017

प्रतिक्रिया दिनुहोस्