९६ करोडको अदुवा निर्यात

सहयात्रा टिभी

इलाम । कृषि क्षेत्रमा अगुवा इलामले यो वर्ष ९६ करोड रुपैंयाँ अदुवा निर्यातबाट आम्दानी गरेको छ । इलामबाट आर्थिक वर्ष २०७३-७४ मा ९६ करोडको अदुवा निर्यात भएको कृषि विकास कार्यालय इलामले जानकारी दिएको छ । कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेका अनुसार यो वर्ष इलामबाट २७ हजार ५७० मेट्रिक टन अदुवा निर्यात भएको छ । विगतमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हुँदै आएको अदुवाको अहिले जिल्लामा व्यावसायिक खेती भइरहेको छ । जिल्लामा उत्पादन भएको अदुवा झापाको काँकडभिट्टा हुँदै भारतको सिलिगुडी निकासी हुने गरेको छ ।

किसानले अदुवाको व्यावसायिक खेती गर्न थालेपछि उत्पादन वृद्धि भई मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष अदुवा निर्यातमा केही समस्या भए पनि हालै भन्सार निर्यात खुल्ला भएपछि निर्यात सहज हुनेमा किसान ढुक्क छन् । कूल उत्पादनको २६ प्रतिशत अदुवा मात्रै जिल्लाका बजारमा खपत हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । बीऊमा मात्र छ हजार ४६६ मेट्रिक टन अदुवा खपत हुन्छ । इलाममा उत्पादित अदुवा भारतीय बजारमाथि निर्भर छ । पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा पर्ने गरेका छन् । पछिल्लो समय अदुवामा रोगको संक्रमण बढेकाले खेतीमा समस्या बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथ साहले बताएका छन् ।

प्रकाशित : 5 November, 2017

प्रतिक्रिया दिनुहोस्