कोइराला परिवारको विरासत फर्काउने दाऊमा रिजाल
बिराटनगर । विगतदेखि राजनीतिको केन्द्रमा रहँदै आएको बिराटनगर यस पटक फेरि अलग्गै रुपमा चर्चा र चासोको थलो बनेको छ ।मोरङ्ग क्षेत्र नम्बर–२ पहिलो पटक कांग्रेस नेता मिनेन्द्र रिजालले उम्मेद्वारी दर्ता गराएसँगै यहाँको चर्चा र चासो बढेको हो ।
पहिलो पटक चुनावी मैदानमा उत्रिएका कांग्रेस नेता मिनेन्द्र रिजाल मोरङ क्षेत्र नं २ मा कोइराला परिवारको गुमेको विरासत फर्काउने दाऊमा छन् । २०४८ सालको संसदीय निर्वाचनदेखि संविधानसभाको पहिलो निर्वाचनसम्म कांग्रेसले आफ्नो पकड क्षेत्र बनाउँदै आएको यो क्षेत्रमा दोस्रो संविधानसभा निर्वाचनमा एमाले कांग्रेसको बलियो किल्ला तोड्न सफल बनेको थियो । यो क्षेत्रमा २०४८, ०५१ र ०५६ सालको संसदीय निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति गिरीजाप्रसाद कोइरालाले जित्दै आएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा एमालेका ऋषिकेश पोखरेलले कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई ३५८ मतले हराएर कांग्रेस किल्ला तोडेका थिए । पहिलो संविधानसभा निर्वाचनमा उपाध्यायले नै जितेका थिए । यस पटक पनि कांग्रेसका रिजालका प्रतिष्पर्धी बामगठबन्धनका तर्फबाट एमालेका पोखरेल नै छन् । उनी पनि कोइराला परिवारको यस क्षेत्रको विरासतलाई कांग्रेसमा फर्कन नदिने रणनीति बनाइरहेका छन् । रिजालको यो पहिलो चुनावी यात्रा हो । यसअघिका दुवै संविधानसभा निर्वाचनमा उनी समानुपातिकबाट सभासद भएका थिए । त्यसअघिका कुनै पनि निर्वाचनमा उनी उम्मेद्वार बनेका थिएनन् ।
पूर्वमा रतुवा र पश्चिममा वक्रहा खोलाको चेपुवामा रहेको यस क्षेत्रमा दुवै उम्मेद्वारले यी दुई नदीको कटान र बाढी नियन्त्रणलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । ती दुई नदीमा हरेक बर्ष आउने बाढीले पुरै क्षेत्र प्रभावित बन्दै आएको छ । दुवै नदीको कटान र बाढी नियन्त्रणलाई रिजाल र पोखरेलले मुख्य चुनावी मुद्दा बनाएका छन् ।
कांग्रेसको हातबाट पाँच वर्ष यो क्षेत्र गुम्दा विकासका सबै कार्यक्रम ठप्प प्राय भएको रिजालको दावी छ । गिरिजाप्रसाद र आमोदप्रसादको पालामा जति विकास निर्माणका काम भए त्यसपछि थप केहीपनि विकास निर्माणका काम नभएको उनको भनाई रहेको छ । रिजाल भन्छन्–‘पाँच वर्षमा यो क्षेत्र विकास निर्माणमा संसद विकास कोष बाहेक अन्य कुनै पनि बजेट पुगेको पाइएन । मेरो ध्यान यहाँको समग्र क्षेत्रको विकासमा लाग्ने छ ।’यहाँका स्थानीय निकायलाई साधन स्रोत उपलब्ध गर्न र विकासमा पछि परेको यो क्षेत्रको समग्र विकासका लागि केन्द्रीय स्तरको नेतृत्वको आवश्यकता रहेको रिजालको भनाई छ ।
रिजालका प्रतिष्पर्धी वामगठबन्धनका पोखरेलले पनि तिनै मुद्दालाई चुनावी एजेण्डा बनाएका छन् । ‘एक कार्यकाल जनताले दिएको जिम्मेवारी पूरा गरेको छु’–उनले थपे–‘यसपालि विकास निर्माणका एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएको छु । जनताले मलाई विश्वास गर्नु हुन्छ भन्ने लागेको छ ।’ उनले बृद्ध भत्ता बृद्धिसहित ७ सय दलित सुकुम्बासी परिवारलाई घर उपलब्ध गराउने बताएका छन् । ‘त्यस्ता सुकुम्वासीका लागि अहिले ३ सय घर निर्माण भइसकेका छन्’–उनले भने–‘थप ४ सय घर निर्माणका क्रममा छन् ।’ यो क्षेत्रमा गत स्थानीय निर्वाचनको मत परिणाम हेर्ने हो भने बामगठबन्धन बलियो देखिन्छ । तर, यो क्षेत्रमा रहेका दुई नगरपालिकाको मेयरमा कांग्रेसले बाझी मारेको छ । यस क्षेत्रको रतुवामाई नगरमा कांग्रेसले मेयर र सुनवर्षी नगरमा मेयर र उपमेयर दुवै जितेको थियो । यस क्षेत्रका स्थानीय निर्वाचनमा कांग्रेसले १७ हजार ५ सय ७, फोरम लोकतान्त्रीकले ३ सय ९७, एमालेले १५ हजार २ सय ४६, माओवादी केन्द्रले ८ हजार ३ सय ९८ मत पाएको थियो । यसलाई आधार मान्ने हो भने यहाँ कांग्रेसको १७ हजार ९ सय ४ र बामगठबन्धनको २३ हजार ६ सय ४४ मत देखिन्छ ।