एमाले र माओवादी केन्द्रको संयुक्त घोषणा–पत्र जारी
काठमाण्डौं । वाम गठबन्धन बनाएको नेकपा एमाले र माओवादी केन्द्रले आज (मंगलबार) संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
गठबन्धनले काठमाडौमा दुवै पार्टीका शीर्ष नेताको उपस्थितिमा संयुक्त घोषणापत्र सार्वजनिक गरेको हो । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन् । सो अवसरमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुकको विकास र स्थायित्वलाई आधार बनाएर घोषणापत्र तयार गरिएको बताए ।
उनले घोषणापत्रमा विकास निर्माण, सामाजिक न्याय, उर्जालगायतका विषयलाई प्राथमिकतामा राखेको बताउँदै समावेश गरिएका विषयहरुलाई ३ बर्ष, ५ बर्ष र १० बर्षमा पूरा गर्ने लक्ष्य राखेको जानकारी दिए । घोषणापत्रमा दैनिक ५ लाख पर्यटक भित्र्याउने, सूचना प्रविधिमा विदेशी लगानी निषेध गर्ने नीति अगाडि सारेको, सामाजिक सञ्जालालई जनमुखी बनाउने र विधिको शासन कायम गर्ने विषयलाई पनि उठाइएको अध्यक्ष प्रचण्डले बताएका छन् । समाबेशी र सन्तुलित विकासको अवधारणा घोषणापत्रमा उल्लेख भएको तथा सामाजिक, सांस्कृतिक नीतिलाई समेत अघि सारिएको छ ।
यस्तै पुर्ननिर्माण र पुनस्र्थापनाका विषयमा पनि बाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएको तथा भुकम्पपीडितलाई ३ लाख अनुदान र तीन लाख निव्र्याजी ऋण दिने नीति अघि सारेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले घोषणापत्र एमाले र माओवादीको साझा अवधारणा भएको भन्दै घोषणापत्र कार्यन्वयन गरेरै छाड्ने दाबी गरे । उनले पार्टीको घोषणापत्र मात्र नभएर यो राष्ट्रको घोषणापत्र भनेर बुझ्न आग्रह गरे । उनले शान्ति, स्थायित्व, विकास, समुन्नत र समृद्धिका पक्षमा घोषणापत्र रहेको बताए । ‘यो चुनावी घोषणपत्र मात्रै होइन, यो देश विकासको मेरुदण्ड हो, राष्ट्र निर्माणको सर्वोत्कृष्ट घोषणा हो’–ओलीले भने–‘यी उद्देश्य प्राप्त गर्ने हाम्रो चुनाव लड्न मात्र होइन देश बनाउन हो ।’