पेट्रोलियम पाइपलाइन विस्तारको काम छलफलमै सीमित

सहयात्रा टिभी

काठमाण्डौं । सरकारले राष्ट्रिय प्राथमिकता दिने भनिएको पेट्रोलियम पाइपलाइन विस्तारको काम दुई वर्ष वितिसक्दा समेत काम भन्दा छलफलमै सीमित बनेको छ ।

आयोजना पूरा भइसक्नु पर्ने दुई वर्षको म्यादमा कामको प्रगति भने शुन्यप्रायः देखिएको छ । भारतसँगको सम्झौतामा निर्माण शुरु गरिएको वहुप्रतिक्षित यस आयोजनाको काम सरकारले २०७२ भदौ ७ गते भारतबाट पेट्रोलियम पाइपलाइन ल्याउने गरी सम्झौता गरेको थियो ।तात्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्याँस राज्यमन्त्री धर्मेन्द्र प्रधानबीच नेपाल र भारतबीच रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना निर्माणसम्बन्धी सम्झौता भएको थियो ।

सम्झौता सम्पन्न भएको ३० महिनामा उक्त परियोजना सम्पन्न हुने लक्ष्य राखिएको थियो । मन्त्री थापाले त निर्धारित अवधिभन्दा अगाडि नै पेट्रोलियम पाइपलाइनको निर्माण सकिने दावी समेत गरेका थिए । तर अहिले सम्झौता भएको २६ महिना वितिसक्दा समेत पाइपलाइन निर्माणले गति लिन सकेको छैन । सम्झौता अनुसार आगामी चैतसम्म पाइपलाइन निर्माण सम्पन्न भइसक्नुपर्ने हो । तर पाइपलाइन निर्माणमा अहिलेसम्म ठोस उपलब्धी हासिल हुन सकेको छैन । जसका कारण पाइपलाइन निर्माण पर धकेलिएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अझै पनि पाइप विच्छ्याउने काम शुरु भएको छैन । पाइपलाइन विच्छ्याउनका लागि आवश्यक पर्ने पाइपका लागि टेन्डर भइसकेको उनले जानकारी दिए ।

भारतीय आयल निगमले आवश्यक पाइपका लागि टेन्डर गरिसकेको छ । उक्त टेन्डरअनुसार ठेकेदारमार्फत पाइप खरिद भइसकेको निगमले जनाएको छ । खरिद गरिएका पाइप र अन्य उपकरण नेपाल ल्याउने सम्बन्धमा भन्सार छुटलगायत सुविधाका लागि पनि प्रक्रिया अघि बढेको निगमले बताएको छ । अब पाइप विच्छ्याउने काम धमाधम अघि बढ्ने निगमले जनाएको छ । यसबाहेक आयोजना अघि बढाउने सम्बन्धमा देखिएका अनेक अवरोधको पार लाग्न सकेको छैन । पाइपलाइन विछ्याउने क्षेत्रमा झण्डै २५ हजार रुख काट्नुपर्ने देखिएको छ भने करीब चार हजार एक सय ३५ घरटहरा भत्काउनुपर्ने निगमले यसअघि तयार गरेको आयोजना प्रतिवेदनमा उल्लेख छ । रुख र घरटहराको विषय अझै पनि पूर्ण रुपमा सल्टिसकेका छैनन् । त्यस्तै, पाइपलाइन विस्तारका लागि सडकको जग्गा व्यवस्थापन, विद्युत, टेलिफोन लगायतका तार पनि समस्याको रुपमा रहिआएका छन् ।

यी समस्या अझै पनि पूर्ण रुपमा सल्टिन सकेका छैनन् । यसअघि सम्झौता गर्दा रक्सौलदेखि अमलेखगञ्जसम्म पाइपलाइन विस्तार गर्ने उल्लेख थियो । पछिल्लो समय उक्त रुटमा परिवर्तन भएको छ । नयाँ रुट मोतिहारी–रक्सौल–अमलेखगञ्ज तय भएको छ । अघिल्लो रुटको कूल लम्बाई ४१ किलोमिटर थियो । जसमा ३९ किलोमिटर नेपालमा र बाँकी दुई किलोमिटर भारतीय भू–भागमा रहन्थ्यो । भारतको आफ्नै असहजताका कारण पछिल्लो समय तय भएको योजना अनुसार अब पेट्रोलियम पाइपलाइनको लम्बाई झण्डै ६९ किलोमिटर पुगेको छ । अब भने मोतिहारीदेखि अमलेखगञ्जसम्मको ६८ दशमलव ९६ किलोमिटर लम्बाइमा पाइपलाइन निर्माण गरिने छ । यसअघि ४१ किलोमिटर पाइपलाइन आयोजनाका लागि चार अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । जसमा तीन अर्ब २० करोड रुपैयाँ भारतीय सरकारले र बाँकी एक अर्ब २० करोड रुपैयाँ नेपाल सरकारले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्