वर्षा गराउने प्रणाली २४ घण्टापछि कमजोर हुने, भारी वर्षा र हिमपातको जोखिम कायमै
सहयात्रा टिभी
काठमाडौँ । असोज ८, बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली (डिप डिप्रेसन) आगामी २४ घण्टापछि क्रमशः कमजोर बन्दै जाने भएको छ। यद्यपि यसको प्रभावका कारण आगामी तीन दिनसम्म नेपालका अधिकांश भू–भागमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाढी, पहिरो तथा डुबानको जोखिम उच्च रहेकाले मौसमविदहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा सकेसम्म रातिको समयमा यात्रा नगर्न सुझाएका छन्। गएरातिदेखि नै देशका धेरै ठाउँमा वर्षा भइरहेको र आज यसको मात्रा तथा क्षेत्र अझै विस्तार हुने मौसमविद डेभिड ढकालले जानकारी दिएका छन्।
महाशाखाका अनुसार भारतको विशाखापट्टनम र गोपालपुरबीचबाट उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको तट पार गरिसकेको यो प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै कमजोर हुने क्रममा छ। तर, यसको अवशिष्ट प्रभावले नेपालमा भने आगामी आइतबारसम्म उल्लेखनीय मौसमी उथलपुथल ल्याउने देखिएको छ।
पाँचदिने जोखिम नक्सा : शुक्रबार र शनिबार २० जिल्लामा ‘रेड अलर्ट’
महाशाखाले सार्वजनिक गरेको पाँचदिने जोखिम नक्साअनुसार असोज ८ देखि १० गतेसम्म मुलुकका विभिन्न क्षेत्रमा उच्च जोखिमको अवस्था रहनेछ।
आज (असोज ८, बिहीबार) कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पूर्वी पहाडी जिल्लाहरूमा जोखिमको संकेतस्वरूप ‘सुन्तला’ (अरेन्ज) रङ दिइएको छ, जसको अर्थ सम्भावित विपद्बाट जनधनको क्षति हुन नदिन सतर्क रहनुपर्ने हुन्छ। यस्तै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका तराई भू–भाग र कर्णालीका केही जिल्लालाई मौसमी अवस्थाबारे अपडेट रहन भन्दै ‘पहेँलो’ रङमा राखिएको छ।

भोलि असोज ९ गते (शुक्रबार) जोखिम थप बढ्ने चेतावनी दिइएको छ। शुक्रबार कोशी, बागमती र गण्डकीका उच्च हिमाली भेगका ११ जिल्ला— ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ र मुस्ताङलाई आपत्कालीन प्रतिकार्य आवश्यक पर्ने ‘रातो’ (रेड) रङको सूचीमा राखिएको छ। तराईका झापा, मोरङ, सुनसरी र मधेशका आठवटै जिल्ला तथा सुदूरपश्चिमका पाँच जिल्ला (कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी) पहेँलो सूचीमा छन् भने बाँकी अन्य जिल्लालाई सुन्तला रङ दिएर सतर्क रहन सुझाइएको छ।

शनिबार (असोज १०) भने वर्षाको मुख्य जोखिम मुलुकको पश्चिमी भेगतर्फ केन्द्रित हुनेछ। सो दिन कर्णाली र सुदूरपश्चिमका ९ हिमाली तथा पहाडी जिल्ला— डोल्पा, जाजरकोट, जुम्ला, मुगु, कालिकोट, बाजुरा, बझाङ, हुम्ला र दार्चुलामा ‘रेड अलर्ट’ जारी गरिएको छ।

यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका २७ जिल्ला (लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा र बैतडी) लाई सुन्तला सूचीमा राखेर सतर्क रहन आग्रह गरिएको छ।
आइतबारदेखि मौसममा सुधार आउने
लगातार तीन दिनको प्रतिकूलतापछि असोज ११ गते (आइतबार) देखि भने पानी पर्ने क्रम घट्दै जाने महाशाखाको प्रक्षेपण छ। आइतबार बागमती प्रदेशभन्दा पश्चिमका सबै जिल्ला पहेँलो सूचीमा झर्नेछन् भने कोशी, मधेश र बागमतीका जिल्लाहरूलाई जोखिममुक्त सामान्य अवस्था जनाउने ‘हरियो’ रङमा राखिएको छ।

यातायात अवरुद्ध हुन सक्ने, पदयात्रीलाई विशेष चेतावनी
महाशाखाले जारी गरेको विशेष बुलेटिनमा अविरल वर्षाका कारण भू–क्षय, पहिरो, बाढी तथा गेग्रान बहावको तीव्र जोखिम औंल्याइएको छ। शहरी तथा तराई क्षेत्रहरूमा डुबान हुन सक्ने र नदी-खोलामा बहाव बढ्दा सडक तथा हवाई यातायात, कृषि, दैनिक जनजीवन र विकास निर्माण प्रभावित हुने सम्भावना छ।
यसैगरी, हिमाली भेगमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही, पदयात्री तथा हिमाली क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ। मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाउँदै महाशाखाले जारी हुने पछिल्ला मौसमी सूचनाहरूमा निरन्तर अद्यावधिक रहन सबैलाई अनुरोध गरेको छ।
