धरानमा आफ्नै साथीमाथि छुरा प्रहार

सहयात्रा टिभी

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा उच्च माविमा अध्ययनरत एक विद्यार्थीले आफ्नै साथीमाथि छुरा प्रहार गरेका छन् ।

सुनसरी–१ लक्ष्मी सडकस्थित धरान उच्च माविका विद्यार्थीबीच बुधबार छुरा हानाहान हुँदा एक जना विद्यार्थी गम्भीर घाइते भएका हुन्् । छुरा प्रहारबाट कक्षा–११ मा अध्ययनरत धरान–१६ बस्ने विप्लव पराजुली गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । सोही उमाविमा कक्षा–११ पढ्ने रवि सिंहले सामान्य विवादमा छुरा प्रहार गरेको जनाइएको छ ।

उनी अहिले फरार छन् । घाइते पराजुलीको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको छ । उनको बायाँ छातीमा छुरी प्रहार भएको र ६ पिन्ट रगत चढाए पनि चोट लागेको ठाउँबाट रगत जान नरोकिएकाले स्वास्थ्य अवस्था नाजुक रहेको चिकित्सकहरुले जनाएका छन् । छुराको चोट मुटुमा पनि लागेको हुनसक्ने चिकित्सकको भनाई छ ।
छुरा प्रहार गरी फरार रहेका सिंह धरान–८ स्थित धनकुटेरोडमा कोठा भाडामा लिएर बस्दै आएको बुझिएको छ ।

विद्यालयका प्रत्यक्षदर्शी विद्यार्थीका अनुसार एउटै कक्षा र एउटै सेक्सनमा पढ्ने पराजुली र सिंहबीच बिहान सामान्य ठट्टा भएको थियो । बिहानको सामान्य ठट्टा विवादमा परिणत भएपछि शौचालयमा पनि सामान्य भनाभन भएको थियो । बिहान ११ बजे विद्यालय बिदा भएपछि पराजुली गेट बाहिर निस्केर घर जाने तरखरमा थिए । त्यसैबेला विद्यालयको कम्पाउण्ड भित्रैबाट दौडेर आएका सिंहले अंगालो मारेजस्तो गरेर छुरा प्रहार गरी फारार रहेको प्रतक्षदर्शीहरुले बताए ।
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीषक रामेश्वर पौडेलले छुरा प्रहार गर्ने सिंहको खोजी कार्य तिव्र पारिएको बताए ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्