नेपालमा चिनियाँ रेलको स्थलगत सम्भाव्यता अध्ययन थालियो
काठमाण्डौं । चर्चा चलेको लामो समयपछि नेपालमा चिनियाँ रेलको स्थलगत सम्भाव्यता अध्ययन थालिएको छ ।
चिनियाँ उच्च प्राविधिकसहितको सरकारी टोलीले नेपालमा चिनियाँ रेलको सम्भावनाबारे पुनः स्थलगत अध्ययन शुरु गरेको छ । पाँच दिन नेपाल रहने उक्त टोलीले थप अध्ययनका लागि केही प्राविधिकलाई यतै छोडेर फर्कने जनाइएको छ । टोलीमा रेलमार्गमा लगानी गर्ने व्यवसायी पनि छन् । पाँच भिन्न कम्पनीका प्राविधिक र व्यवसायीसहित टोलीमा १६ जना सहभागी छन् । टोलीमा चीनको परराष्ट्र, यातायात मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय विकास आयोगका अधिकारी, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि र दूतावासका अधिकारी रहेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता प्रकाश उपाध्यायले जानकारी दिएका छन् । उनीहरुले प्राथमिक चरणमा लगानी गर्न सकिने कुरा बताएका छन्, हामीले अध्ययन र राज्यको अवस्थाका बारेमा जानकारी गराएका छौं’–प्रवक्ता उपाध्यायले भने ।
चिनियाँ राष्ट्रिय रेलवे प्रशासनका उपप्रमुख चेङ चियन नेतृत्व टोलीले नेपालमा चीनबाट ल्याउने भनिएको रेलबारे अध्ययन थालेको हो । टोलीले केरुङसम्म चीनले ल्याउने रेललाई काठमाडौं र पोखरा पु¥याउँदै लुम्बिनी जोड्ने विषयमा अध्ययन थालेको हो । मंगलबार काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसी पुगेको टोली स्याफ्रुबेंसीबाट पोखरा हुँदै लुम्बिनी पुगेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको समयमा रेल विभागले प्रस्तुत गरेको प्रतिवेदनका अधारमा नै चिनियाँ पक्षले अध्ययन थालेको रेल विभागका अधिकारीले बताए ।
सरकारले यसअघि नै काठमाडौं र पोखरालाई रेलमार्गले जोड्न खोजेकाले पनि यो प्रक्रियामा चिनियाँ पक्षलाई सहज हुनेछ । नेपालले प्रस्तुत गरेको योजनामा काठमाडौं–केरुङभन्दा पनि काठमाडौं–पोखरा रेलमार्गको विवरण रहेको छ । तर चीनले सबै पक्षलाई उत्तिकै ध्यान दिँदै केरुङलाई लुम्बिनीसम्म जोड्न जोड दिएको टोलीका एक सहभागीले बताए । चिनियाँ चासो काठमाडौंमा बनाउने भनिएको मोनोरेल तथा मेट्रो रेलमा पनि छ । चीनको ल्हासाबाट सिगात्से आइपुगेको रेलमार्ग सन् २०२० मा केरुङ आइपुग्ने भएपछि त्यहाँबाट नेपाल जोड्न खोजिएको हो ।