डाक्टरको लापर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै सात दिनदेखि आन्दोलनमा आफन्त

सहयात्रा टिभी

पोखरा । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि चर्किएको आन्दोलन अझै साम्य हुन सकेको छैन ।

गएको कार्तिक ११ गते अस्पताल भर्ना गरिएकी स्याङ्गजा अर्जुनचौपारस्–१ की गीता अर्यालको अस्पतालको हेल्चेक्र्याईका कारण ज्यान गएको भन्दै उनका आफन्तले सात दिनदेखि आन्दोलन गर्दै आएका छन् । गीता अर्याललाई डाक्टरले कात्तिक १९ गते सुत्केरी हुने मिति तोकेका थिए । तर,  डाक्टरकै सल्लाह अनुसार पोखराको गण्डकी मेडिकल कलेजमा ११ गते भर्ना गरियो । विहानै शल्यक्रिया गर्नुपर्ने भयो ।‘डाक्टरले शल्यक्रिया गर्नुपर्छ भने ।

हामीले हुन्छ भन्यौं । तर, शल्यक्रिया गरेको दिनदेखि उनी बेहोसको बेहोस् भइन्’– आफन्त प्रेमनारायण पौडेलले थपे–‘उनी बेहोस् भएदेखि न हामीलाई भेट्न दिइयो न उनको खास अवस्था जान्न पाइयो ।’ एक्कासि शल्यक्रिया गरेर राखिएको पाँच दिनपछि डाक्टरले गीताको मृत्यु भएको घोषणा गरेको आफन्तको आरोप छ । शल्याक्रियापछि बेहोश गीताको मृत्यु भए पनि शिशु भने सकुशल छन् । शल्यक्रिया गरेर बच्चा निकालेपछि उनी होशमै नआई मृत्यु भएको आफन्तको भनाइ छ । अपरेशनपछि लामोसमय विरामीको होश नआएपछि आफूहरुले डाक्टरलाई सोधे पनि चित्तबुझ्दो जवाफ पाउन नसकेको जानकारी दिंदै आफन्त पौडेल भन्छन्–‘विरामीको अवस्था सुधार हुँदैन भन्दै दैनिक १० हजारसम्मकोऔषधि किनाए ।

पछि एक्कासी मृत्त घोषणा गरियो । मृत्युको कारण खोज्दै आन्दोलनमा उत्रिएका आफन्त अहिले संघर्ष समिति नै बनाएर ७ दिनदेखि आन्दोलनमा छन् । अस्पताल प्रशासनसँग पटक–पटक वार्ता विफल भएपछि आन्दोलनले चर्को रुप लिंदै गएको छ । शल्यक्रियाको क्रममा डाक्टरकै लापर्वाहीले सुत्केरीको गलत नशा काटिएको आफन्तको आरोप छ ।पटक–पटकको वार्ता नमिलेपछि ३ वटा माग राखेर आन्दोलन गरिरहेको संघर्ष समितिले अहिले मेडिकल कलेजको दर्ता खारेजीसम्मको माग गर्दै सडकमै उत्रिएको छ । शिशुको लालनपालन कलेजले गर्नुपर्ने, शिक्षा, औषधि उपचार गर्नुपर्ने, परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेको समितिले बुधबार कलेजको दर्ता खारेजी गर्नुपर्ने माग गर्दै ¥याली नै निकालेर बजार परिक्रमा गरेको छ ।
मृतक गीताको श्रीमान अहिले वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । यता पीडितका आफन्तले संघर्ष समिति नै बनाएर आन्दोलन चर्काइरहँदा अस्पताल प्रशासनले भने अस्पतालको गल्तीले सुत्केरीको मृत्यु नभएको दावी गरेको छ ।

‘अप्रेसन गर्दा के हुन्छ भन्ने यसै भन्न सकिँदो रहेनछ । शरीरको कुनै फङ्सङले काम नगरेपछि गाह्रो हुन्छ’–गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनालले भने–‘उहाँको केसमा के भएछ भने बच्चा जन्मेपछि पिसाबको रुपमा बाहिर जानुपर्ने पानी फोक्सो भित्र छिरेछ ।’

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्