१३ लाख ५५ हजार मतदाता बढे, झापामा सबैभन्दा बढी मतदाता थपिए

सहयात्रा टिभी

काठमाण्डौं । स्थानीय तहको निर्वाचनपछि नेपालमा १३ लाख ५५ हजार मतदाता बढेका छन् ।

मुलुकभर गरी यतिका संख्यामा मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या एक करोड ४० लाख ७२ हजार ४२४ थियो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले भदौ ५ गतेसम्म मतदाता नामावली अध्यावधि गर्दा १३ लाख ५५ हजार ५१४ मतदाता थपिएका हुन् ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कूल मतदाताको संख्या एक करोड ५४ लाख २७ हजार ९३८ कायम भएको निर्वाचन आयोगले जनाएको छ । सबैभन्दा बढी मतदाता झापामा थपिएका छन् । झापामा स्थानीय तहमा ५ लाख ८ हजार ३५६ मतदाता रहेका थिए । प्रतिनिधिसभा निर्वाचनमा झापामा ७६ हजार ८१० मतदाता थपिएका छन् । झापामा ५ लाख ८५ हजार १६६ जना मतदाता कायम भएको छ । यस्तै दोस्रोमा सर्वाधिक थपिएकोमा मोरङ र तेस्रोमा रूपन्देही छन् ।

प्रकाशित : 8 November, 2017

प्रतिक्रिया दिनुहोस्