‘देउवामा राजदूतसँग बोल्ने पनि हिम्मत छैन, कठैबरी !’’

सहयात्रा टिभी

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आर्थिक नोक्सानी हुने कुरामा पनि प्रधान्मन्त्री शेरबहादुर देउवाले कुरा गर्न डराएको आरोप लगाउँदै ‘कठैबरा देउवा’ भन्दै आलोचना गरेका छन् ।

बिहीबार काठमाण्डु क्षेत्र नम्बर–४ मा एमाले उम्मेद्वार राजन भट्टराईको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दैनिक हजारौं ट्याङ्कर र ट्रकहरु सीमापारी रोकिंदा पनि प्रधानमन्त्री देउवाले भारतसँग कुरा गर्ने आँट गर्न नसकेको बताए । ट्रक र ट्याङ्कर त्यहाँ रोकिंदा दैनिक लाखौं रुपैयाँ नेपाली व्यवसायीले घाटा व्यहोर्नुपरेको उनले सुनाए । देउवाले भारतसँग कुरा गर्न डराएकै कारण सीमा नाकामा हजारौं ट्रक र ट्याङ्करहरु रोकिएको ओलीको आरोप छ ।

देउवासँग यसबारे भारतीय राजदूतसँग कुरा गर्ने हिम्मत नभएको तर मधेसमा गएर भारतीयलाई नागरिकता दिन संविधान संशोधन गर्छु भन्दै भाषण गरेको ओलीको आरोप छ । अध्यक्ष ओलीले भने–‘मधेसतिर भाषण गर्दै हिंडेको सुनें, कांग्रेसलाई जिताए संविधान संशोधन गर्ने रे ! संविधान संशोधन किन गर्ने ? उताबाट आउनेलाई नागरिकता दिएर तुरुन्त राष्ट्रपति बनाउनका लागि ? नेपालमा कोही जन्मिएका छैनन् राष्ट्रपति र मुख्यमन्त्री बन्न ? कसलाई रिझाउन बोलेको ?’ मधेसका जनताको लागि संविधान संशोधनको जिम्मा एमालेले लिने भन्दै ओलीले पारिपट्टिको लागि संविधान संशोधनको जिम्मा देउवाले लिएको हुन सक्ने बताए ।

उनले भने–‘प्रधानमन्त्रीले बोर्डरवारी भाषण गर्नुभयो तर पारिपट्टि महिनौंको लाइन छ ।’ देउवाले भारतसँग कुरा गर्न नसकेकै कारण सीमा नाकामा लगातार समस्या देखिएको ओलीको आरोप छ । ‘भारतसँग एक शब्द बोल्नुप¥यो भने ४ पटक चश्मा मिलाउनु पर्छ, ५ पटक दौरा तान्नुपर्छ’–ओलीले भने–‘उहाँ भन्न सक्नु हुन्न, भन्ने मात्रै हो भने त्यो लाइन खुल्थ्यो तर, राजदूतसँग पनि भन्ने हिम्मत पनि छैन, कठैबरी !’

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्