लाठ्ठीचार्जको विरोधमा जिल्ला प्रहरी कार्यालय घेराऊ

सहयात्रा टिभी

अर्घाखाँची । एक झगडामा मध्यस्थथा गरिरहेका युवालाई प्रहरीले उल्टै लाठ्ठी हानेको भन्दै अर्घाखाँचीको सन्धीखर्च नगरपालिकाका बासिन्दाले जिल्ला प्रहरीकार्यालय घेराऊ गरेका छन् ।

स्थानीयले अर्घाखाँचीका प्रहरी प्रमुख एकनारायण कोइरालाले राजीनामा दिएर जिल्ला छोड्नु पर्ने माग गर्दै नाराबाजी गरेका छन् । सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा किराना व्यापार गरी बस्ने मुस्लिम समुदायका बाबु–छोराको झगडा मिलाउन गएका चुत्राबेसीमा इलेक्ट्रिकल पसल गर्दै आएका एवम् सुपादेउराली केवल नेर्टवकका सञ्चालक दामोदर केसीलाई प्रहरीले लाठ्ठीचार्ज गरी घाइते बनाएको भन्दै स्थानीयले बुधबार मध्यरातदेखि नाराबाजीसहित जिल्ला प्रहरी कार्यालय घेराउ गरेका हुन् । सामान्य झगडा भएका बेला प्रहरीले अवस्था मत्थर पार्नुको सट्टा लाठीचार्ज गरेको भन्दै प्रहरीप्रति सन्धीखर्कबासी आक्रोशित भएका हुन् ।  केसीको टाउकोमा गम्भिर चोट लागेको छ ।

घाइतेको जिल्ला अस्पताल सन्धीखर्कमा उपचार हुन नसकेपछि भैरहवा रिफर गरिएको छ । कोइरालाको निर्देशनमा निर्दोष स्थानीयबासीमाथि प्रहरीले लाठीचार्ज गरेको उनीहरुको आरोप छ । कोइरालाको राजीनामा नआएसम्म अर्घाखाँची बन्दलगायतका आन्दोलन घोषणा गरिने उनीहरुले चेतावनी दिएका छन् । अर्घाखाँचीमा बाघ आतंकले जिल्लावासी त्रसित भई रहे पनि सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको प्रहरी प्रशासनले निर्दोष मानिसलाई आक्रमण गर्ने, लाठीचार्ज गर्ने, शान्ति खलबलाउने काम गरेको भन्दै सयौंको संख्यामा उपस्थित आक्रोशित स्थानीयले प्रहरी प्रशासनविरुद्ध चर्का नारावाजी गरेका थिए ।

लाठीचार्जबाट घाइते भएको विरोधमा निकालिएको प्रदर्शन केही मत्थर भए पनि आज बिहीवार वार्ता बस्ने र  थप संघर्षका कार्यक्रम तय गरिने उनीहरुले बताएका छन् । उता जिल्ला प्रहरी कार्यालयका प्रमुख एकनारायण कोइरालाले घटनाको सुक्ष्म अनुसन्धान हुने बताएका छन् । दोषी जोकोही भए पनि कार्बाही गरिने उनले बताए । बाबु–छोरासहित घटनामा संलग्न ८ जनालाई थप अनुसन्धान गर्नको लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रकाशित : 9 November, 2017

प्रतिक्रिया दिनुहोस्